श्रावण ७, २०८२ बुधबार July 23, 2025

रामकोटधाममा रथयात्रा महोत्सव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः झरीबीच रामकोटधाममा आज रथयात्रा महोत्सव चलिरहेको छ । काठेखोला गाउँपालिका–५ मा पर्ने उक्त धार्मिकस्थलमा बर्सेनि जेठ ११ मा भगवान् शिवको रथयात्रा निकालिन्छ ।

धाममा अवस्थित त्रिपुरेश्वर महादेव मन्दिरको प्राणप्रतिष्ठा गरिएको दिन पारेर हरेक वर्ष आजैका दिन रथयात्रा गर्ने थिति बसालिएका हो । दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले विसं २०४० मा उक्त मन्दिरको स्थापना गर्नुभएको थियो ।

त्यसयता सालिन्दा रथयात्रा महोत्सव गर्ने गरिएको परमानन्द सन्यास आश्रमका उपाध्यक्ष गौरीशङ्कर शर्मा सुवेदीले बताउनुभयो । “अहिलेको ३९औँ रथयात्रा हो, झरीको समेत पर्वाह नगरी भक्तजनको भीड लागेको छ”, उहाँले भन्नुभयो, “महादेव शङ्करको जन्मोत्वसका रुपमा यसलाई मनाइन्छ ।”

पहिलेपहिले घरधन्दा, खेतीपाती र सरकारी कामकाजसमेत छाडेर मानिसहरु रथयात्रामा सामेल हुने गरेको उपाध्यक्ष सुवेदीले सुनाउनुभयो । रथयात्रा निकाल्नुअघि मन्दिर परिसरमा पण्डितहरुले लघुरुद्राभिषेकलगायत विशेष पाठपूजा गर्ने चलन छ ।

दिउँसो भगवान् शिवको प्रतिमालाई रथमा राखेर भजनकीर्तन र बाजागाजासहित धामको वरिपरि परिक्रमा गराइन्छ । “श्रद्धालुहरुले महादेवको उपासना गर्छन्, रथयात्रामा सहभागी हुँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ”, उपाध्यक्ष सुवेदीले भन्नुभयो, “यो वर्ष पनि चितवन, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँबाट भक्तजनहरू आउनुभएको छ ।”

रथयात्रा महोत्सव रामकोटधामको धार्मिक, सांस्कृतिक चिनारीसँग जोडिएको स्थानीयवासी भरतप्रसाद सापकोटाले बताउनुभयो । रथयात्रा गरेमा घरगाउँमा महाव्याधि नआउने, अन्नपातको सङ्कट नहुने, लामो खडेरी नपर्ने जस्ता जनविश्वास रहिआएको उहाँको भनाइ छ ।

“रामकोटधामका संस्थापक दिवङ्गत गुरु परमानन्द सरस्वती महाराजका पालादेखि नै रथयात्राको परम्परा सुरु भएको हो,” सापकोटाले भन्नुभयो, “हरेक वर्ष जेठ ११ गते नै रथयात्रा निकालिन्छ, धार्मिक हिसाबले यसलाई महत्वका साथ लिइन्छ ।” धाममा महादेव मन्दिरसँगै सन्यास आश्रम र संस्कृत गुरुकुल पनि छ ।

गुरुकुलको पनि दिवङ्गत स्वामी परमानन्द सरस्वतीले सुरुआत गर्नुभएको थियो । उहाँ रामकोटधामको संस्थापकले समेत हुनुहुन्छ । हाल धामको संरक्षक राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००० स्वामी ज्ञानानन्द सरस्वती हुनुहुन्छ ।

परम्पराको जगेर्ना, पूर्वाधार विकास र प्रचारप्रसारले पछिल्लो समय रामकोटधाम धार्मिक गन्तव्यस्थलका रुपमा चिनिँदै गएको छ । गण्डकी प्रदेशका ११० पर्यटकीय गन्तव्यमा पनि रामकोटधाम सूचीकृत छ ।

धाम क्षेत्रको संरक्षण र विकासमा सरकारी निकायदेखि जनसाधारणसम्मको हातेमालो छ । त्यहाँ रथयात्रा महोत्सवसँगै बालाचर्तुदशी, शिवरात्रिलगायत पर्वमा पनि धार्मिक मेला र अनुष्ठान चल्ने गर्छन् ।

वैदिक विधिद्वारा दैनिक पूजाआजा हुने भएकाले रामकोटधाम भक्तजनको रोजाइमा छ । त्रिपुरेश्वर महादेव मन्दिरभित्र रहेको पाँच सय किलोको शिवलिङ्गले पनि धामको आकर्षण थपेको छ । भारतको नर्मदा नदीबाट ल्याएर उक्त शिवलिङ्ग त्यहाँ प्रतिस्थापन गरिएको हो ।

झन्डै ३५० रोपनी क्षेत्रफलमा धाम फैलिएको छ । पहाडको थुम्कोमा चारैतिरबाट जङ्गलले घेरेको हुनाले रामकोटधाम यसै पनि आकर्षक छ । सदरमुकामदेखि बागलुङ बजारदेखि २० किमी दूरीमा रामकोटधाम पर्छ । नजिकै मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्ने भएकाले आउजाउ सहज छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार