श्रावण ७, २०८२ बुधबार July 23, 2025

मछिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आगामी बुधबार रथलाई जावलाखेल लगिने भएको छ । गत वैशाख २६ गते लगनखेल पु¥याइएको रथलाई सो दिन जावलाखेलतर्फ लैजान लागिएको हो । रथलाई जावलाखेल पु¥याएको चौथो दिनमा भोटो जात्रा हुने गर्छ ।

बुधबार नै रथ पुगेमा शनिबार जात्रा हुने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । कुनै कारणले भोलिपल्ट मात्रै पुगेमा भने आइतबार जात्रा हुनेछ । सामान्यतया रथ लगनखेलबाट हिँडाएको दिनमा नै जावलाखेल पुगेको उहाँले बताउनुभयो । जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ ।

जावलाखेलमा जात्रा सकिएसँगै मछिन्द्रनाथको यो वर्षको जात्रा सकिन्छ । त्यसपछि देवतालाई बुङमति लैजाने गरिन्छ । देवता वर्षमा झण्डै आधाआधा समय पाटन र बुङ्मति रहेने गर्छन् । आज मङ्गलबजारमा ज्योतिष खलक बसेर साइत हेर्दा जावलाखेलतर्फ लैजानका लागि बुधबारको साइत जुरेको हो । मङ्गलबजारको सोह्रखुट्टे पाटीमा बसेर साइत हेर्ने गरिएको छ ।

उपत्यकाको सबैभन्दा लामो रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोभिड–१९ का कारणले जात्रा नियमितरूपमा सञ्चालन हुन नसकेकामा यस वर्ष उत्साहका साथ रथयात्रा भइरहेको गुठीका प्रमुख हरि सुवेदीले बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण गत दुई वर्ष साङ्केतिकरूपमा मात्रै रथ तानिएकामा यस वर्ष विधिपूर्वक भइरहेको छ । स्थानीयवासी हर्षित र उत्साहित भएको सुवेदीले बताउनुभयो ।

स्थानीय तह निर्वाचन भइरहँदा पनि ललितपुर महानगरपालिकामा भने जात्राको रौनक छाएको थियो । वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण भएपछि जात्राको रौनक अझै बढ्ने गरेको छ । मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको छ ।

गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ । पहिले पहिले काठमाडौँवासी र भक्तपुरवासी पनि रथ तान्न आउने गरेको ललितपुरका ज्येष्ठ नागरिक बताउँछन् । फरक फरक मान्छेले रथ तान्दा सुरक्षित नभएपछि अहिले त्यो हटिसकेको छ ।

मछिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झन्डै वर्षभर नै लाग्ने गरेको छ । यो वर्ष झन्डै रु ५० लाख खर्च हुने कार्यालयले अनुमान गरेको छ । मछिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायत कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ । रथ नियमितरूपमा र अवरोध नभई सञ्चालन हुँदा कम खर्च लाग्ने भए पनि बीचमा रथ बिग्रिएमा थप रकम लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बीचमा बिग्रिएर मर्मत गर्दा बढी रकम लाग्नसक्छ ।”

जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने उहाँले बताउनुभयो । देवतालाई पाटन ल्याएदेखि नै रकमेहरुकोे कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ । कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका भेटिने गर्छन् ।

जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ । घरमा बुबा, हजुरबुबाले नसक्ने अवस्थामा सन्तानले उक्त जिम्मेवारी लिने गरेका छन् । सीप भएका व्यक्ति विदेश जाँदा भने काममा बाधा पुग्नसक्ने उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार