काठमाडौंः सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भने कात्तिक वा मंसिरभित्रै चुनाव हुने बताएका छन् ।
स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरुबीच सम्बन्ध चिसिइरहेको र यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने भन्दै केही नेताहरुले फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् ।
उनले अहिलेको चुनावी परिणाम राम्रो रहेको र आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि बताएका छन् । ‘जे गठबन्धन भने पनि नेपाल अब प्रतिस्पर्धात्मक नेपाल चुनाव प्रणालीमा गइसक्यो । यो खुल्ला लोकतन्त्रमा राम्रो कुरा हो । मलाई विश्वास छ यो गठबन्धन रहन्छ,’ उनले भने ।
गठबन्धनभित्र समस्या रहे पनि त्यस्ता समस्या समाधान हुने खालका रहेको उल्लेख गर्दै उनले समाधान गर्नका लागि दलहरुबीच छलफल गर्ने बताए । चुनावअघि गठबन्धन बनाउने विषयमा कांग्रेसभित्रै पनि खटपट थियो । अहिले त्यस्तो गठबन्धन बनाउने विषयमा पार्टीमा कुनै विवाद नरहेको देउवाले बताए ।
‘पार्टीभित्र त निर्णय भएपछि भइहाल्छ नि ! डेमोक्रेटिक पार्टी हो आ-आफ्नो विचार त भइहाल्छ नि । हाम्रो पार्टीमा त्यस्तो समस्या छैन,’ प्रधानमन्त्री देउवाले भने ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया