श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

चितवनमा बर्डफ्लुका कारण ३ लाख ५९ हजार कुखुरा नष्ट, एक अर्बभन्दा बढी असर भएको व्यवसायीको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवनमा बर्डफ्लुका कारण ३ लाख ५९ हजार ९९६ वटा पन्छी नष्ट गरिएको छ। तीन महिनाको अवधिमा ३४ वटा फर्मका कुखुरा, हाँस र बट्टाइ नष्ट गरिएको हो।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार लेयर्स, बोईलर, कडकनाथ जातका कुखुरा र हाँस नष्ट गरिएको छ। सबैभन्दा बढी लेयर्स जातका ३ लाख ५८ हजार ४११ कुखुरा नष्ट गरिएको शुशिल केसीले जानकारी दिए। उनका अनुसार, तीन वटा फर्मबाट ब्रोईलरका ६४६, एक वटा फर्मका कडकनाथ जातका ८९६ वटा कुखुरा, ३५ वटा हाँस र ८ बट्टाई नष्ट गरिएको छ।

यस्तै ६ हजार टर्कीका ब्रिडिङ अण्डा, १ हजार ३ सय ८० वटा गिरिराजका अण्डा, ४० केजी मासु, १ हजार कार्टुन नष्ट गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

चालु आर्थिक वर्षमा पहिलोपटक माघ २८ गते राप्तीको अनिता पशुपन्छी कृषि फर्ममा बर्डफ्लु देखिएको थियो। त्यसपछि जिल्लाका विभिन्न फर्ममा बर्डफ्लु फैलिएको थियो। पछिल्लो समय वैशाख २७ गते रत्ननगरको जेम्स एग्रो प्रा.लिमा देखिएको थियो। त्यहाँ ४० हप्ताका १३ हजार लयर्स कुखुरा नष्ट भएको कार्यालय प्रमुख केसीले बताए।

चितवनको खैरहनी नगरपालिकामा बर्डफ्लुका कारण सबैभन्दा बढी क्षति भएको छ। १४ वटा फर्ममा बर्डफ्लु देखिएको खैरहनीमा २ लाख ९३ हजार ११५ वटा कुखुरा नष्ट भएका छन्। खैरहनी १को अन्नपुर्ण पोल्ट्री व्रिडर्स फर्म प्रा.लिमा मात्रै १ लाख १४ हजार ७२५ वटा लेयर्सका कुखुरा नष्ट गरिएको छ। पाँच दिन लगाएर त्यस फर्मका कुखुरा नष्ट गरिएको थियो। यस फर्ममा वैशाख २२ गते बर्डफ्लु देखिएको थियो।

खैरहनी नगरपालिकापछि भरतपुर महानगरपालिकामा बढी क्षति भएको छ। भरतपुरका १६ वटा फर्मका ५१ हजार १४४ वटा कुखुरा नष्ट भएका छन्। सबैभन्दा पहिले राप्तीमा बर्डफ्लु देखिएपनि भरतपुरमा र खैरहनीमा जस्तो फैलिएको छैन। राप्तीको अनिता पशुपन्छी तथा कृषि फर्ममा मात्र देखा परेको छ। त्यहाँका १ हजार ९१३ कुखुरा र १४ वटा हाँस नष्ट भएका छन्। रत्ननगर नगरपालिकामा १३ हजार कुखुरा, बट्टाई ६ र ४० केजि मासु नष्ट गरिएको थियो।

बर्डफ्लु देखिसंगै चितवनमा व्यवसायीहरु पलायन हुने अवस्थामा आएका छन्। ८५ वटा ठुला पोल्ट्री फर्म रहेको जिल्लामा २५ वटा पलायन भएको नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेलले बताए। ‘चितवनमा ९ लाख चल्ला उत्पादन हुन्थ्यो। अहिले ६ लाख मात्र उत्पादन भएका छन्,’ उनले भने, ‘अहिले जिल्लामा व्यवसायी नै घट्दै गएका छन्।’ नेपालको उत्पादनमध्ये चितवनमा मात्रै ५० प्रतिशत उत्पादन हुने उनले बताए।

चितवनमा ३४ वटा फर्मका कुखुरा पूरै नष्ट गरिएको छ। त्यसमध्ये खैरहनीको अन्नपुर्ण पोल्ट्री ब्रिडर्स फर्ममा मात्रै १ लाख १४ हजार ७२४ कुखुरा नष्ट भएका छन्। यसबाट करिब २५ करोडको हाराहारीमा क्षति भएको सञ्चालक अर्जुन अर्याल बताउँछन्। ‘अहिले प्रत्यक्ष खर्च हेर्दा १५ करोडको खर्च भए होला। यसबाट अण्डा दिने कुखुरा भएकाले करिब २५ करोडको बराबर कारोबार हुने अनुमान थियो,’ निराश हुँदै उनले भने, ‘लगानी जति सबै डुब्यो।’

बैंकबाट ऋण लिएर व्यवसाय गरेको बताए। ‘२०५२ सालदेखि यस व्यवसायमा लागेको हुँ। कुखुरामा गरिएको लगानी बैंकको थियो,’ उनले भने, ‘बैंकको ब्याज तिर्नसमेत समस्या हुन्छ।’ उनले तीन महिनापछि कुखुरा राख्ने सोच बनाएका छन्। ४२ दिन खाली राख्नुपर्छ,’ उनले भने, ‘बैंकबाट ऋण लिएर भएपनि तीन महिनापछि कुखुरा राख्ने विचार छ।’ सरकारले बर्डफ्लुबाट नष्ट भएको कुखुराको बजार मूल्यको ७० प्रतिशत दिन्छ। तर, चितवनका व्यवसायीले अहिलेसम्म पाउन सकेका छैनन्।

बर्डफ्लुका कारण जिल्लामा १ अर्बभन्दा बढी घाटा हुने नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन्। ‘अहिले जिल्लामा २५ करोड बराबरको लस भएको देखिएको छ। यसले दिर्घकालीन असर १ अर्बभन्दा बढीको गर्छ। बर्डफ्लुका कारण अरु चल्ला समेत बिक्री भएन,’ उनले भने, ‘पोल्ट्री व्यवसायी धरासायी अवस्थामा छ।’ नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा यू-१६ युथ लिग : मनाङसँग हिमालयन शेर्पा ४-२ ले पराजित
२०८२ श्रावण ९, शुक्रबार
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार