काठमाण्डौंः वर्तमानमा सबैभन्दा अप्ठ्यारो परिस्थितिको सामना कसले गर्नुपरेको छ भन्ने प्रश्नको सही जवाफ यतिबेला माधवकुमार नेपाल बन्नुभएको छ ।
निर्वाचनमा काङ्ग्रेस र माओवादी दुवै दलले धोखा दिएका कारण आफ्नो स्थिति अपेक्षा गरिएभन्दा भिन्न भएको बुझाइ नेता नेपाल र उहाँका पार्टी-नेताहरूको छ । नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो असन्तुष्टि जाहेर गरिसक्नुभएको पनि छ । तर काङ्ग्रेस र माओवादीका नेताहरू माधव नेपालको स्थिति धेरै कमजोर भएको र, गठबन्धन नभएको भए समाजवादी पार्टीले पाँच वटा पालिकामा पनि विजय हाशील गर्न नसक्ने ठान्दछन् ।
माधवको शक्ति-परीक्षण भएपछि माओवादीका नेताहरूले उहाँलाई भाउ दिन छाडेका छन् । पहिले माधव नेपालविना पृथ्वी घुम्दैन भनेजस्तै व्यवहार गर्ने प्रचण्डले अहिले माधव घाँडो बनेको महसूस गर्न थालेका छन् । त्यसैले माओवादी पार्टीले अब माधव नेपाललाई बाटैमा अलपत्र छोडेर हिँड्यो भने कुनै आश्चर्य नहुने भएको छ ।
काङ्ग्रेस नेतृत्वले पनि माधव नेपाललाई महत्व दिन छोडेको छ भने मधेशकेन्द्रीत समूहहरूबाट पनि माधव उपेक्षित हुँदै आएका छन् । उता एमाले अध्यक्ष केपी शर्मा ओली त माधव नेपालको नाम लिएपछि मुख कुल्ला गर्नुपर्ने ठान्नुहुन्छ । माधवको राजनीति शुन्यावस्थामा पुऱ्याउने मानसिकताबाट ओली अझै मूक्त हुनुभएको देखिँदैन । माधवको बर्बादीमा खुशी हुने मानसिकता एमालेका अधिकाङ्श नेताहरूमा देखिएको छ । यसरी माधव नेपाल सबैतिरबाट एक्लिएर बिल्लीबाठको अवस्थामा पुग्नुभएको छ ।
सबैबाट उपेक्षित हुँदै गएका बेला मावध नेपाल आफ्नै पार्टीका सांसद् र मन्त्रीहरूबाट समेत अपहेलित हुनुभएको छ । आफूले मन्त्री बनाएका व्यक्तिहरूले पार्टी निर्णयलाई चुनौती दिएपछि माधव झन् सकसमा पर्नुभएको छ । पूर्वनिर्धारित सहमतिबमोजिम नेकपा समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट मन्त्री बनेका किसान श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्री र प्रेम आलेलाई फिर्ता बोलाउने नर्णय गरेकोमा उक्त निर्णयलाई मन्त्रीहरूले सिधै चुनौती दिएका छन् । उक्त समूहका २३ मध्ये सत्र सांसद आफूतिर रहेको भन्दै मन्त्री किसान श्रेष्ठले माधव नेपाललाई चेतावनी दिएका छन् ।
ज्ञातव्य छ, स्थानीय निर्वाचनपछि समाजवादीका अधिकांश नेता-कार्यकर्ताहरूले एमालेमै फर्कने मन बनाएका छन् । त्यसैले माधव नेपाल पनि दोस्रो सीपी मैनाली बन्ने सम्भावना बढेको छ । घटना र बिचारबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया