श्रावण ८, २०८२ बिहिबार July 24, 2025

शिलु महादेव मन्दिरमा ३७१ वर्ष पुरानो ‘बो’ सिंह पुनःस्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भक्तपुर नगरपालिका दरबारक्वायर परिसरको पूर्वी चोकको उत्तरतर्फ रहेको ऐतिहासिक शिलु महादेव मन्दिरमा ३७१ वर्ष पुरानो ‘बो’ सिंह अर्थात् उड्ने सिंह पुनः स्थापना गरिएको छ ।

विसं १९९० को महाभूकम्पमा भत्किएपछि शिखर शैलीको उक्त मन्दिरलाई फर्सी आकारमा निर्माण गरिएपछि फर्सी देवका रुपमा चिनिँदै आए पनि विसं २०७२ को भूकम्पले मन्दिर पुनः भत्किएको थियो । अहिले १९९० सालभन्दा अगाडिकै स्वरुपमा शिखर शैलीमा मन्दिर पुनर्निर्माण भइरहेको छ । हाल पुनर्निर्माणको अन्तिम चरणमा पुगेको उक्त मन्दिरमा मल्लकालीन बो सिंह अर्थात् उड्ने सिंह पुनःस्थापना गरिएको हो ।

राजा जयप्रकाश मल्लको पालामा विसं १७०७ मा बनेको ऐतिहासिक नीलकण्ठेश्वर महादेवका नाममा समेत चिनिने शिलु महादेव मन्दिरमा बाजागाजाका साथ बो सिंहलाई ल्याएर पुनःस्थापना गरिएको छ । भक्तपुर दरबारस्क्वायरको गोसाईं कुण्डका रुपमा समेत चिनिने यो मन्दिरको चारैतर्फ रहेको उड्ने सिंह स्थापना गरिएको थियो । विसं १९९० सालको भूकम्पमा मन्दिर भत्किएपछि ८८ वर्ष अगाडि दुईवटा सिंहलाई भक्तपुर नगरपालिकाको पुरानो भवनको ढोकामा र दुई वटालाई भक्तपुर नगरपालिका–७ गोल्मढीस्थित गःहिटी (ढुङ्गे धारा)को दायाँबायाँ राखिएको थियो ।

भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरको पहलमा बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको हो । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले गोल्मढीको गःहिटीमा एक जोडी नयाँ बो सिंह पुनःस्थापना गरिदिएर ऐतिहासिक सिंहलाई त्यहाँबाट झिकेर पुनःशिलु महादेव मन्दिरमै पुनःस्थापना गरिएको कार्यालयकी प्रमुख अरुणा नकर्मीले जानकारी दिनुभयो ।

मन्दिरको पेटीका पाँचमध्ये तीन तहमा जोर जनावर राख्ने परम्परा लिच्छिवी तथा मल्लकालदेखि रहँदै आएको छ । शिलु महादेव मन्दिरमा सबभन्दा तल हात्ती, त्यसको माथि दोस्रो तहमा सिंह र सोभन्दा माथि साँढे राखिएका छन् । मन्दिरका देवताको पहरेदारको रुपमा ढोका वा सिँढीमा सिंह र अन्य जनावर राख्ने ऐतिहासिक परम्परा हो । यसलाई धार्मिक आस्थासँग पनि जोडिने गरिन्छ ।

नेवारी भाषामा शिलुलाई गोसाइँकुण्ड भनिन्छ । स्थानीयवासीका अनुसार गोसाइँकुण्ड जान नसक्ने बालबालिका, ज्येष्ठ सदस्य एवं अशक्त भक्तजनका लागि यो मन्दिर १७ औँ शताब्दीतिर बनेको हो ।

करिब चार करोडको लागतमा पुनर्निर्माण भएको यस मन्दिरको दायाँबायाँ अन्य दुई मन्दिर पनि रहेको पुराना तस्बिरमा देख्न पाइन्छ । विसं १९९० अगाडि यस मन्दिरको बायाँपट्टि कुनामा हरिशङ्करको मन्दिर रहेको थियो । जसलाई नेपाल भाषामा लाँ पाँ देग अर्थात् बाटो छेकेर बनाइएको मन्दिर वा देवल भनेर चिनिने यो मन्दिर भने अहिले यहाँ देखिँदैन ।

यो मन्दिर १९९० सालको भूकम्पमा भत्किएपछि नयाँ नबनाउँदा मन्दिर देख्न पाइँदैन भने यहाँको मूर्ति राष्ट्रिय कला सङ्ग्रहालय, भक्तपुरमा राखिएको छ । शिलु महादेव मन्दिरको दायाँतर्फ भने भूइँ तलामा दक्षिणामूर्तिको मन्दिर र माथिल्लो तलामा भक्तपुरको दिगु तलेजुका मन्दिर रहेको संस्कृतिविदहरूको भनाइ छ ।

विसं १९६५ र १९९० को भूकम्पमा धराशायी बनेका तीन तले माथि गुम्बज शैलीको ती मन्दिर पनि १९९० सालपछि पुनर्निर्माण नहुँदा तस्बिरमा मात्रै देख्न पाइन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
केपी कठोर, विद्या ‘पर्ख र हेर’
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार