काठमाडौंः नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटका जनताले आवश्यक ठानेको खण्डमा आफू प्रत्यक्ष निर्वाचन लड्ने बताएका छन् । टोखा स्थित आफ्नै निबासमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता महतले आफुले नुवाकोट जिल्लाको लागि विकास निर्माणमा महत्वपूर्ण योगदान गरेको स्मरण गराउँदै यस पटक प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने इच्छा रहेको कुरा बताएका हुन् ।
हालसम्म नुवाकोटबाट एकपटक पनि निर्वाचन नलडेका डा. महतलाई पत्रकारहरुले निर्वाचन आउँदै छ, तपाईँको क्षेत्र काठमाडौँको ५ नम्बर कि नुवाकोट १ हो भनी प्रश्न गर्दा उनले छहरे टोखा सुरुङ्गमार्ग निर्माण, बालाजु-ककनी सडक निर्माण लगायत नुवाकोटको समग्र विकासको लागि धेरै काम गर्न बाँकी रहेकोले आफु प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा रहेको बताए ।
विगतको निर्वाचनमा काठमाण्डौं क्षेत्र नम्बर ५ बाट निर्वाचन लडेको भएपनि उनले आफूले उर्जामन्त्री भएका बेला नुवाकोट जिल्लाको अधिकांश स्थानमा विद्युतीकरण लगायतका थुप्रै विकास योजनाका काम शुरुवात गरेकोले गृह जिल्लाबाटै निर्वाचन लड्ने मनसायसमेत राखे ।
पत्रकारहरुको सोधेको अर्को एक प्रशंगमा डा. महतले आफ्ना दाजू डा. रामशरण महतको लिगेसीलाई निरन्तरता दिन क्षेत्र नं १ बाट निर्वाचन लड्न खोज्नु भएको त होइन ? भन्ने प्रश्नमा उनले पार्टीमा आफ्नै हैसियत कम भएका बेला समेत दाजुको पावरको प्रयोग नगरेको भन्दै आफु हरेक काममा विश्वास गर्ने भएकाले आफ्नो कामको आधारमा नै निर्वाचन लड्न चाहेको बताए । ‘मेरो पहिलो प्राथमिकता प्रत्यक्षमै चुनाव लड्ने हो र जितेर संसद्मा जाने गरी नै तयारी गरेको छु,’ महतले भने।
केसी निवास सामाखुशीमा साउन १५ मनाउन जानुभयो नि के केसी परिवारसँग सम्बन्ध सुध्रिएको हो त ? भन्ने पत्रकारहरुको प्रश्नमा नेता महतले आफुले कहिलेपनि केसी परिवार भनेर बाइस नगरेको र उहाँहरुले निम्ता गरेको खण्डमा सँधै जाने बताए ।
नेता महतले नुवाकोट जिल्लामा केसी र महत भन्ने कुरा अन्त्य गर्दै कांग्रेसलाई एक बनाएर लैजानुपर्नेमा जोड दिए । पत्रकारहरुले सोधेको अर्को एक प्रश्नमा उनले कसैसँग तालमेल नगरी सरकार बनाउन नसकिने भन्दै अहिले अरु दल खोजेर गठबन्धन गर्नु भन्दा यहि गठबन्धनलाई कायम राखेर जाने पक्षमा नेपाली कांग्रेस रहेको बताए ।
उनले प्रधानमन्त्री देउवा आफ्नो कारणले बदनाम भएको भन्ने समाचारप्रति कडा आपत्ति जनाउँदै आफुलाई दिएको जुनसुकै जिम्मेवारी पनि सफल रुपमा पुरा गरेको बताए ।
पछिल्लो समय डा. महतलाई नुवाकोट क्षेत्र नं १ बाट निर्वाचन लड्नका लागि कांग्रेसका नेता कार्यकर्ताले दवाव दिइरहेका बेला उनले बिहिबार पत्रकारसँग आफ्नो धारणा सार्वजनिक गरेका हुन् । पाँच दलीय गठबन्धन सहित सहमति भएमा डा. महत काठमाडौँ ५ बाट अन्यथा नुवाकोटबाटै चुनाव लड्ने तयारीमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया