काठमाडौंः नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहका नेताहरु शनिबार छलफल गरेका छन् । उनीहरुले सभापति देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै राष्ट्रिय भेलाको पूर्व तयारी बमोजिम भेला गरेका छन् ।
काठमाडौंको बत्तीशपुतलीमा काँग्रेस नुवाकोटका पूर्व सभापति जगदीश्वरनरसिंह केसीको संयोजनमा दोस्रो तहका नेता सम्मिलित बैठक सम्पन्न भएको छ। भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, प्रकाश स्नेही, मधु आचार्य पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे सहित युवा नेताहरु मनोजमणि आचार्य , केशव सिंह ,रञ्जित कर्ण , सुवास पोख्रेल, डिल्लीराम सुवेदी , गोमा केसी , कुसुम थापा सहित ८० जनाको उपस्थितिमा भेला सम्पन्न भएको हो ।
छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गुरुराज घिमिरेले सभापति देउवाको अहिलेसम्मको व्यवहारले आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको बताए ।
भेलामा सहभागी सम्पूर्ण वक्ता एकस्वरमा नेतृत्वले एकलौटी ढंगबाट अघि बढेको अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन्। भेलाको संयोजन गरेका नेता केसीका अनुसार “८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि समेट्नुभएको छैन, राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनियन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुहुन्न ।
समेट्दा पनि समेट्नुहुन्न, यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँलेन्यायोचित निर्णय नहुने भए भागवण्डामा जानुपर्ने उनले बताए । ‘न्यायोचित निर्णय गर्नुुहुन भने ४० प्लस चाहियो’ केसीले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि । अब अस्तित्वको लडाइ लड्नुपर्ने भयो ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया