काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक आचरण अभ्यास गर्ने पार्टी नेकपा एमाले नै भएको दाबी गर्नुभएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा शान्ति सुव्यवस्था कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, जनतालाई गरिबीबाट मुक्त गर्ने, सीमा समस्या अन्त्य गर्ने, सुकुम्बासी, भूमिहीन, आरक्ष पीडितको व्यवस्थापन गर्ने र देश विकासका लागि मार्गचित्र तयार गर्ने पार्टी नेकपा एमालेको नेतृत्वको आवश्यकता देशले महसुस गरेको उल्लेख गर्नुभयो ।
सङ्घीय तथा प्रदेशका सांसद तथा विभिन्न पार्टीका केन्द्र तथा प्रदेश स्तरीय लगायत सयौँ नेताहरूलाई नेकपा एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले अन्यत्रको माहौल बुझेर आखिरमा पुनः नेकपा एमालेमै फर्किनुले नेकपा एमालेमा जनलहर बढ्दै गएको प्रष्ट भएको उल्लेख गर्नुभयो ।
जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश निवर्तमान अध्यक्ष विक्रम बहादुर शाही, प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी, प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार चन्द, पछिल्लो निर्वाचनमा समाजवादीबाट मेयरका प्रत्याशी रामचन्द्र रेग्मी लगायत विभिन्न पार्टीबाट सयौँ नेताहरू नेकपा एमाले प्रवेश गर्नुभएको नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले जानकारी दिनुभएको छ ।
एमालेमा फिर्ता हुनुभएका प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरीलाई भने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज नै बर्खास्त गरिसक्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया