काठमाण्डौंः नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि मुलुकले लगातार पाँच वर्ष काम गर्ने प्रधानमन्त्री पाउने बताउनुभएको छ ।
झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको मेचीनगरस्थित बाहुन डाँगीमा नवनिर्मित सालिकको अनावरण गर्नुहुँदै महामन्त्री शर्माले मुलुकमा लोकतन्त्र, गणतन्त्र र सङ्घीयता आइसकेकाले अब बन्ने प्रधानमन्त्री जनताको जीवनमा रूपान्तरण गर्न सक्ने चाहिएको र त्यस्तै प्रधानमन्त्री मुलुकले पाउने बताउनुभयो ।
मुलुकले राजनीतिक व्यवस्था परिवर्तनका लागि पुग्दो आन्दोलन र सहादत भइसकेको बताउँदै महामन्त्री शर्माले, “अब जनताको अवस्था र राजनीतिक दलको कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ”, भन्नुभयो ।
नेपाली कांग्रेसका नेता घिमिरेको २०१९ जेठ ३१ गते बाहुन डाँगीबाट चन्द्रगढी जाँदै गर्दा प्रहरीले गोली हानेर हत्या गरेको थियो । उहाँको सहादत भएको ६० वर्षपछि नेपाली काँग्रेसले झापाका प्रथम सहिद घोषणा गरेको थियो ।
तत्कालीन बाहुनडाँगीका प्रधानपञ्च रहनुभएका घिमिरेको सहादत प्राप्त भएको छ दशकपछि निर्माण गरिएको शालिकको महामन्त्री शर्माले अनावरण गर्नुभएको हो । रु १४ लाख ६३ हजार नौ सय ४७ को लागतमा सालिक निर्माण भएको आर्थिक समितिका संयोजक मोहन निरौलाले जानकारी दिनुभयो ।
कार्यक्रममा कांग्रेसका पूर्व उपसभापति तथा सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, गोमा भट्टराई र सरिता प्रसाईँ, पार्टीका प्रदेश–१ का सभापति उद्धव थापा, उपसभापति देउमान थेबेलगायतले बोल्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेकपा एकीकृत समाजबादीका सविता भण्डारीलगायतले सो अवसरमा आआफ्नो धारणा राख्नुभएको थियो ।
शालिक निर्माणका लागि सहिद घिमिरेका नाति निरज घिमिरेले साढे तीन धुर जग्गा दान गर्नुभएको सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष कट्टेलले बताउनुभयो ।
सो समारोहमा शहिदका दुई जना परिवारलाई अभिनन्दन गरिएको छ । शहिदका स्व.छोरा ठाकुरप्रसादकी श्रीमती धनकुमारी घिमिरे र प्रतिष्ठानका सचिव निरज घिमिरेलाई अभिनन्दन गरिएको हो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया