काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को भदौ २६ गतेदेखि सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
नेकपा (बहुमत)को वैठकले संसदीय चुनाव केवल व्यक्तिहरू चुनाव लड्ने, जित्ने, जनतामा भ्रम उत्पन्न हुने र जनतालाई सत्ताविरुद्धको आन्दोलनबाट विमुख बनाउने काम भइराखेको भन्दै चुनाव अवज्ञा गर्ने निर्णय गरेको छ । रुपन्देहीको खैरेनिमा सम्पन्न भएको वैठकका थप निर्णयहरु सार्वजनिक गर्न असोज १ गते काठमाडौँमा पत्रकार सम्मेलन गर्ने नेकपा(बहुमत)ले जनाएको छ ।
केन्द्रीय समितिको बैठकमा विगतमा भएका चुनाव बहिष्कार वा खारेजका नाममा विगतमा भएका जनताबाट अलग हुने र फौजी कारबाहीका नाममा हुने कामहरूलाई पूर्ण रूपले रोक्ने र बढीभन्दा बढी जनतालाई गोलबन्द गर्दै चुनाव अवज्ञा गरिने बैठकले निर्णय गरेको छ । अवज्ञा कार्यक्रममा प्रचारप्रसार, सभा, जुलुस लगायतका कार्यक्रम गरीने छ । यसक्रममा चुनाव बहिष्कार गर्ने अन्य पार्टी वा शक्तिसँग पनि कार्यगत एकता गर्ने नेकपा (बहुमत) ले जनाएको छ । यसैगरी माक्र्सवाद-लेनिनवाद-माओवाद मान्ने, संसदीय व्यवस्थालाई अस्वीकार गर्ने, वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशामा सहमत हुने क्रान्तिकारी पार्टी, तप्का, व्यक्तित्वसँग पार्टी एकता गर्ने छलफल पनि बैठकमा भएका जनाइएको छ ।
नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) का बीचमा लगातार वार्ता भएर अहिले पार्टी एकता संयोजन समिति निर्माण भई एकता सन्निकट पुगेको सार्वजनिक भैसकेको छ । दुई पार्टीका बीचमा पार्टी एकता संयोजन समिति बनिसकेपछि नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका तर्फबाट संयोजकले त्यसको स्वागत गर्दै विज्ञप्ति सार्वजनिक गरेका थिए । उक्त पार्टीको विशेष महाधिवेशनपछि नै तीनवटा पार्टीका बीचमा एकता हुने जानकारी पार्टी संयोजक कञ्चनले दिएका थिए ।
यसैगरी सरकारसँग भएको तीनबुँदे सहमतिका बारेमा सहमति भएको १९ महिना पुगिसक्दा पनि विगतमा लगाइएका मुद्दा खारेज नगर्नु, बन्दीहरूलाई बिनासर्त रिहा नगर्नुले यो सरकार इमानदार नदेखिएको भन्दै केन्द्रीय समितिका सबै सदस्यले तीनबुँदे सहमति कार्यान्वयन गराउन सशक्त सङ्घर्षको कार्यक्रम बनाउनुपर्ने मत राखेका छन् ।
उक्त बैठकमा पार्टी केन्द्रीय कार्यालय सदस्य, सचिवालय सदस्य, नवौँ महाधिवेशन आयोजक समितिका सदस्य (केन्द्रीय समितिका सदस्य) हरूले मुख्य प्रस्तावका रूपमा पार्टी संयोजक कञ्चनद्वारा प्रस्तुत पार्टी एकता, मङ्सिर ४ गते गर्न लागिएको चुनावका साथै सरकार र तत्कालीन नेकपाका बीचमा भएको ३ बुँदे सहमति कार्यान्वयनलगायत विषयमा आआफ्नो धारणा राखेका थिए । सवै केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राखिसकेपछि पार्टीका संयोजक र प्रवक्ता लगायतले प्रशिक्षण दिएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया