असोज १६, २०८० मंगलबार October 3, 2023

सुदूरपश्चिम प्रदेशसभाको पाँचवर्ष : सङ्घीयतालाई संस्थागत गर्ने नयाँ सिकाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेशस्तरमा व्यवस्थापिकाका–संसद्को भूमिका निर्वाह गर्ने सुदूरपश्चिम प्रदेशसभाको पहिलो कार्यकाल पूरा हुने चरणमा छ । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्पूर्ण संस्था प्रदेशसभाको प्रदेशस्तरमा गरिएको संसदीय अभ्यास पहिलो पटक हो । तोकिएको विधिका माध्यमबाट शासन प्रणाली सञ्चालनका लागि नीति र कानून निर्माणको महत्त्वपूर्ण कार्य प्रदेशसभाले गर्ने गर्दछ ।

दोस्रो कार्यकालका लागि आगामी मङ्सिर ४ गते निर्वाचन हुने मिति तय भई आवश्यक तयारी भइरहेको छ । यो अवधिमा प्रदेशसभाले ६७ वटा ऐन निर्माण गरेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुन बने पनि धेरै कानुन बन्न अझै बाँकी छन् ।

सभामुख अर्जुनबहादुर थापाले यो अवधिमा संसदीय अभ्यासमा परिपक्वता हासिल भएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयन गर्ने कुरा प्रदेशको हकमा नौलो विषय हो, संसदीय प्रणाली धेरै प्रजातान्त्रिक लाग्यो ।”

पाँच वर्षअघि भएको निर्वाचनपछि गठन भएको प्रदेशसभाको कार्यकालअन्तर्गतको अन्तिम अधिवेशन हालै अन्त्य भइसकेको छ । सङ्घीय व्यवस्थालाई संस्थागत गर्न विधायकका रूपमा नयाँ सिकाइ भएको अनुभव प्रदेशसभाका सदस्यको छ ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता एवं मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाको अन्तिम बैठकमा यो अवधिमा सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न सफलता मिलेको अनुभव सुनाउनुभएको थियो  । उहाँले भन्नुभयो, “नयाँ व्यवस्था भएकाले सुरुको वर्षमा विभिन्न जटिलता देखिएर नागरिकको सबै अपेक्षा पूरा गर्न नसकिए पनि कतिपय क्षेत्रमा धेरै उपलब्धि भएको छ ।”

नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता एवं भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीले सङ्घीय व्यवस्थामा नयाँ सिकाइ भएको अनुभव सुनाउँदै भन्नुभयो, “सङ्घीयतामा सिक्दै र क्षमता अभिवृद्धि गर्दै अगाडि बढ्ने हो ।”

नेपाली कांग्रेस संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावल विगतमा भएको संविधान विपरीतका गतिविधिबाट देखिएको राजनीतिक र आर्थिक तरलताले अन्योलपूर्ण अवस्थामा पुगेको देश हाल ‘लिक’मा आएर सङ्घीयता संस्थागत हुने बाटोमा गइरहेको बताउनुभयो ।

नेकपा (एमाले) संसदीय दलका नेता प्रकाशबहादुर शाहले सङ्घीय व्यवस्थामा सुरुको अवस्थामा केही जटिलता देखिए पनि आगामी दिनमा यसको सफल कार्यान्वयनका लागि अठोट गर्नुपर्ने बेला आएको बताउनुभयो ।

जनता समाजवादीका मालामति राना र लोकतान्त्रिक समाजवादीका कृष्णबहादुर चौधरीले यो अवधिमा सोचेअनुसारको उपलब्धि हुन नसके पनि केही नयाँ कामको सुरुआत हुनु उपलब्धि भएको जानकारी दिनुभयो ।

देशका अन्य प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भए पनि यो प्रदेशमा नेतृत्व परिवर्तन भएन । नेतृत्व परिवर्तन नभएका विषयलाई पनि उपलब्धि मानिएको छ ।  प्रदेशसभाले यो अवधिमा प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्न सफल भयो । प्रदेशसभाको दुई तिहाइको बहुमतले पारित प्रदेश राजधानी रहने स्थान (कैलालीको तेघरी क्षेत्र) मा टुङ्गो लगाउन सफल भए पनि त्यहाँ अहिलेसम्म कुनै पनि संरचना भने निर्माण हुन सकेको छैन । राजधानी स्थापना गर्न तोकिएको ठाउँमा सङ्घीय सरकारले जग्गाको भोगाधिकार नदिएको कारण राजधानीका संरचना निर्माण हुन नसकेको प्रदेश सरकारले बताउँदै आएको छ ।

प्रदेशको संरचनापछि सुदूरपश्चिम प्रदेशमा यो अवधिमा चार जना प्रदेश प्रमुख फेरिएका छन् । प्रदेश संरचनाले काम सुरु गरेसँगै पहिलो प्रदेश प्रमुखमा मोहनराज मल्ल नियुक्त हुनुभएको थियो । यसपछि शर्मिलाकुमारी पन्तले दोस्रो प्रदेश प्रमुखको जिम्मेवारी बहन गर्नुभयो ।

तेस्रो प्रदेश प्रमुखका रूपमा गङ्गाप्रसाद यादव रहनुभयो । हाल देवराज जोशी प्रदेश प्रमुख हुनुहुन्छ । सङ्घीय सरकारको नेतृत्व परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिनुभएको हो ।

पाँच वर्ष अघिको चुनावलगत्तै तत्कालीन वाम गठबन्धनको बहुमत रहेको प्रदेशसभामा जम्मा ५३ प्रदेशसभाका सदस्य थिए । पाँच वर्षअघिको निर्वाचनबाट एमालेका तर्फबाट २५, माओवादी केन्द्रका तर्फबाट १४ र कांग्रेसका तर्फबाट १२, तत्कालीन राष्ट्रिय जनता पार्टीबाट दुई जना निर्वाचित हुनुभएको थियो ।

राजनीतिक दलमा भएको विभाजन र दल बदलपछि एमाले १०, कांग्रेस ११, माओवादी केन्द्र १३,नेकपा (एकीकृत समाजवादी) ११, जनता समाजवादी र लोसपाका एक-एक सदस्यमा सीमित भएको छ । नेकपा एमालेका कैलाली जिल्ला अध्यक्षसमेत रहेका प्रदेशसभा सदस्य रतनबहादुर थापा हालै नागरिक उन्मुक्ति पार्टीमा प्रदेश गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित झपटबहादुर बोहरा एमालेमा प्रवेश गर्दा गरिएको कारबाहीले उहाँको प्रदेशसभा सदस्य पद एक वर्षअघि नै रिक्त भएको थियो । डडेलधुराबाट प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका कर्णबहादुर मल्ल पार्टीको कारबाहीपछि पदमुक्त हुनुभएको छ ।

एमालेबाट निर्वाचित हुने २५ मध्ये १४ प्रदेशसभा सदस्यले पार्टी विभाजनका बेला नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्नुभएको थियो ।  सो पार्टीमा सनाखत गरी विगतमा प्रदेशको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका क्रमशः तरालामा तामाङ र कुलवीर चौधरी केही दिनअघि पुनः एमालेमै फर्किनुभएको छ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी केही दिनअघि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार