काठमाण्डौः ३५ भन्दा कम अंक ल्याउनेलाई ननग्रेडिङ (एनजी)को व्यवस्था गरेपछि यस वर्ष कक्षा १२ को नतिजा रिटोटलिङ (पुनर्योग)का लागि १५ हजार विद्यार्थीले निवेदन दिएका छन् । रिटोटलिङका लागि गरिएको यो निवेदन विगतका वर्षहरूको तुलनामा तेब्बर हो ।
विगतमा ३५ भन्दा कम अंक ल्याउनेलाई पनि ‘ई’ ग्रेडमा राखेर पास गराइन्थ्यो । तर, यस वर्षदेखि ३५ अंकभन्दा बढी अर्थात् ‘डी’ ग्रेडसम्म ल्याउनेलाई मात्रै पासको मान्यता दिने व्यवस्था गरेसँगै रिटोटलिङ माग गर्ने विद्यार्थीको संख्या बढेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस वर्ष रिटोटलिङका लागि निवेदन दिएका १५ हजारमध्ये अधिकांश विद्यार्थी तीन विषयमा ननग्रेडिङ आउने रहेको बताए । सबैभन्दा बढी साइन्सका विषयमा झन्डै चार हजार निवेदन परेका छन्, जसमा फिजिक्स र केमेस्ट्रीमा धेरै छन् । शर्माका अनुसार तीन विषयमा एनजी हुनेहरूले अर्कोपटक सबै विषयको जाँच दिनुपर्ने र दुई विषयसम्ममा एनजी हुनेले भने मौका पाउँछन् । अघिल्ला वर्षहरूमा पाँच हजारको हाराहारीमा रिटोटलिङको निवेदन पर्ने गरेको बोर्डको तथ्यांक छ ।
महाश्रम शर्मा अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड
यसअघि ननग्रेडिङ व्यवस्था नहुँदा विद्यार्थीले सर्टिफिकेट पाउँथे, तर अहिले ननग्रेडिङको व्यवस्था लागू भयो । ननग्रेडिङमा पर्नु भनेको फेल भएको भन्ने नै हो, सर्टिफिकेट पाउन पुनः परीक्षा दिनुपर्छ । रिटोटलिङ गर्दा पुनः परीक्षा दिनुनपर्ने हुन सक्छ भन्ने आशा विद्यार्थीले लिएका होलान् । तर, रिटोटलिङमा नतिजा उल्टिएका उदाहरण एकदमै न्यून छन् । एक प्रतिशत पनि नतिजा परिवर्तन भएको छैन ।
‘यसअघि ननग्रेडिङ व्यवस्था नहुँदा विद्यार्थीले सर्टिफिकेट पाउँथे, तर अहिले ननग्रेडिङको व्यवस्था लागू भयो । ननग्रेडिङमा पर्नु भनेको फेल भएको भन्ने नै हो, सर्टिफिकेट पाउन पुनः परीक्षा दिनुपर्छ,’ अध्यक्ष शर्माले भने, ‘रिटोटलिङ गर्दा पुनः परीक्षा दिनुनपर्ने हुन सक्छ भन्ने आशा विद्यार्थीले लिएका होलान् । तर, रिटोटलिङमा नतिजा उल्टिएका उदाहरण एकदमै न्यून छन् । एक प्रतिशत पनि नतिजा परिवर्तन भएको छैन ।’
रिटोटलिङमा नतिजा फेरबदल नहुनुले परीक्षणमा सुधार आएको बुझ्न सकिन्छ । यस वर्ष मार्किङ स्किम, वर्कसप गरेर ओरियन्टेसन दिएकाले पनि सुधार भएको हुन सक्ने शर्माले बताए । लेटर ग्रेडिङ पद्धतिबाट कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी (न्यूनतम ३५ अंक) र प्रयोगात्मक परीक्षामा सी ग्रेड प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
गत १७ जेठदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षामा तीन लाख ९६ हजार एक सय ८५ सहभागी थिए । जसमध्ये नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेडवृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार एक सय ३२ थिए । नियमिततर्फका तीन लाख ६३ हजार आठ विद्यार्थीमध्ये एक लाख ८८ हजार चार सय १० विद्यार्थीको नतिजा ननग्रेडिङ आएको थियो ।
ननग्रेडिङ भएका एक लाख ८८ हजारमध्ये एक लाख ३० हजारले दिए ग्रेडवृद्धिको परीक्षा
बोर्डले गत ३० र ३१ असोजमा ग्रेडवृद्धिको परीक्षा सञ्चालन गरेको थियो । दुई विषयसम्म ननग्रेडिङ वा अनुपस्थित भएका विद्यार्थीले परीक्षा दिन पाउने गरी व्यवस्था गरेको थियो । ग्रेडवृद्धि परीक्षामा एक लाख ३० हजार पाँच सय ११ विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ । दुई विषयमा ननग्रेडिङ भएका विद्यार्थीले पुनः परीक्षा दिन पाउने भएकाले पनि तीन विषयमा ननग्रेडिङ भएका धेरै विद्यार्थीले रिटोटलिङका लागि निवेदन दिएको बोर्डका अधिकारीको भनाइ छ । बोर्डले एनगे्रडिङ भएका प्रायः विद्यार्थीको रिटोटलिङ नतिजा सार्वजनिक गरिसकेको छ भने ग्रेड प्राप्त गरे पनि नतिजामा चित्त नबुझेर रिटोटलिङ निवेदन दिएका विद्यार्थीको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँपत्रिका दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया