निर्वाचनअघि घोषणापत्र ल्याउनु आवश्यक हो कि कर्मकाण्ड ?
विकसित समाजमा घोषणापत्र नै भनेर नाम नदिए पनि आफू सत्तामा पुगेमा यस्तायस्ता काम गर्नेछु भनेर कार्यकारी प्रमुखका उम्मेदवारले प्रतिबद्धता पत्र ल्याउने चलन छ । यस्तो प्रतिबद्धता पत्र या घोषणापत्र निर्वाचनपछि आफ्नो सरकार बन्यो भने योयो काम गर्छौं भनेर जनतासँग मत माग्ने अस्त्र पनि हो । तर, कार्यान्वयनको अवस्थालाई हेर्दा हामीकहाँ भने घोषणापत्र विशुद्ध कर्मकाण्ड हो, बिरालो बाँधेर श्राद्ध गर्ने परम्पराको निरन्तरता हो ।
दलहरूले सत्तामा पुगेपछि घोषणापत्रका घोषणा किन भुल्छन् ?
निर्वाचनअघि ल्याइएका घोषणापत्रमा दलहरूले केटाकेटीलाई चकलेट बाँडेजसरी जनतालाई भुलाउन सम्भव असम्भव अनेक घोषणा गरेका हुन्छन् । उनीहरूले घोषणापत्रमा उत्पादनमुखीभन्दा पनि वितरणमुखी योजना बढी ल्याएका हुन्छन् । देशमा उत्पादन संकटमा भएको वेलामा वितरणमुखी योजना कार्यान्वयन हुन सक्दैनन् । अनि, उनीहरू आफ्नै घोषणा बिर्सिए जस्तो गर्न बाध्य हुन्छन् ।
दलहरूलाई घोषणापत्रप्रति जिम्मेवार बनाउने कुनै विधि हुँदैन ?
त्यस्तो कुनै विधि त हुँदैन । तर, जनताको चेतना र मिडियाको सचेत खबरदारीले दलहरूलाई जिम्मेवार बनाउन सकिन्छ । जबसम्म जनता र मिडियाले प्रश्नमाथि प्रश्न गर्न सक्दैनन् तबसम्म दलहरू जिम्मेवार बन्ने अपेक्षा गर्नु व्यर्थ हुन्छ । घोषणाअनुसार काम नगर्नेलाई अर्को निर्वाचनमा भोट नदिनु नै उनीहरूलाई जिम्मेवार बनाउने उत्तम विधि हो । नयाँपत्रिका
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया