काठमाडौंः दलहरुको चुनावी घोषणा पत्रले निजी विद्यालयहरुलाई वेवास्ता गरेको नेशनल प्याब्सनले जनाएको छ । मंसिर ४ मा हुन गईरहेको संघ र प्रदेशको निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको आगामी कार्यक्रम र घोषणा पत्रले निजी विद्यालयको सवालमा त्यति धेरै चासो नराखेको देखिएको जनाएको हो ।
कार्तिक १८ र १९ गते तनहुँको दमौलीमा बसेको नेशनल प्याब्सन केन्द्रीय समितिको दोस्रो पुर्ण बैठकले दलहरुको चुनाबी घोषणा पत्रले निजी विद्यालयहरुलाई वेवास्ता गरेको र चासो नराखेकोले नयाँ तरिकाले सोच्न र आफ्ना कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले बैठकको उद्घाटन गर्दै संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउँदै शैक्षिक, आर्थिक र संगाठनिक नीतिहरुलाई स्पष्ट पार्दर्शी बनाइने बताए । पालिका, जिल्ला, प्रदेश र केन्द्र बिचको सम्बन्ध र कार्यनीतिलाई समयानुकूल प्रगाढ बनाइने भनाई राखे ।

हमालले बालबालिकालाई केन्द्र बिन्दुमा राखी शिक्षालाई उच्च प्राथमिकता दिँदै निजी विद्यालयहरुको संरक्षण, सम्बर्द्धन समृद्धिका नयाँ योजनाहरु ल्याउने र सरकारी नियम कानुनहरुमा निजी विद्यालयहरुका सवालमा समय सापेक्ष मैत्रीपूर्ण र सम्मानजनक बनाउन लागिपरेको जानकारी गराउँदै थुप्रै नीतिगत छलफलबाट प्राप्त भइसकेको बताए ।
बैठकमा संगठन भित्र रहेका उपाध्यक्षहरुका विभिन्न विभागहरुको प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यसैगरी नेशनल प्याब्सनको २५औँ स्थापना दिवस पौष २७ लाई भव्यरुपमा मनाउन विद्यार्थी, विद्यालयहरुलाई समावेश गरी विविध राष्ट्रिय कार्यक्रम गर्ने, नेशनल प्याब्सनको इतिहास डोकुमेन्ट्री प्रस्तुत गर्ने लगायतका निर्णय गरिएको थिए । सह–अध्यक्ष सुवस न्यौपानेले सबै उपस्थित तथा आतिथ्य जिल्ला तनहुँलाई धन्यवाद ज्ञापन गरेका थिए भने बैठकको सञ्चालन महासचिव पारसमणी दहालले गरेका थिए ।

प्रतिक्रिया