काठमाण्डौंः पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताएका छन् ।
आज दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेको समेत ठोकुवा गरे । पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।
भूमि फिर्ताका विषयमा उहाँले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिए । “चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्”, उनले भने, “प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ ।”
सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू छन् । उनीसँगको प्रतिस्पर्धामा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया