असार २८, २०८२ शनिबार July 12, 2025

युद्धको निन्दा गर्दै खुला व्यापार प्रवर्धनमा एपेक नेतृत्वको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एशिया–प्रशान्त क्षेत्रका नेताहरूले युक्रेन युद्ध अन्त्यको आह्वान गर्दै यस क्षेत्रको दिगो आर्थिक उन्नयन तथा खुला व्यापार प्रवद्र्धनका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा सम्मेलन आयोजक देश थाइल्याण्डले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गरेको जनाएको छ । एक्काइस सदस्यीय एपेकका सदस्य चीन र रुस पनि हुन् । यद्यपि चीनले रुसी आक्रमणको आलोचना गरेको छैन ।

शिखर सम्मेलन समाप्तिपछि जारी घोषणापत्रमा युद्धका बारेमा एपेक नेतृत्वको मत बाझिएको छ । एपेकले आर्थिक सम्ब्न्ध विस्तार र व्यापार प्रवद्र्धनलाई नै जोड दिएको तथा एपेक द्वन्द्व समाधानको मञ्च नभएको जनाइएको छ । मञ्चले युद्ध र द्वन्द्वबाट आर्थिक विकासका मार्गमा अकल्पनीय परिणाम ल्याउन सक्नेतर्फ सचेत गराएको छ ।

एपेकका अधिकांश सदस्यले युक्रेनमाथि भएको आक्रमणको कडा शव्दमा निन्दा गरेका थिए । युक्रेन युद्धले ठूलो मानवीय पीडा निम्त्याएको, विश्व बजारमा महँगी बढेको, आपूर्ति शुङ्खलामा समस्या उत्पन्न भएको, खाद्य असुरक्षा र वित्तीय जोखिम निम्त्याएकामा गम्भीर चिन्ता व्यक्त गरेका थिए ।

यसअघि इन्डोनेसियाको बालीमा भएको विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीले पनि संयुक्त राष्ट्रसङ्घीय महासभाले प्रस्तुत गरेको प्रस्तावप्रति समर्थन जनाउँदै युक्रेनविरुद्ध रुसले गरेको आक्रमणको निन्दा गरेको थियो । उक्त अन्तरसरकारी समूहले युक्रेनी भूभाग रुसले विनाशर्त फिर्ता गर्नुपर्नेमा जोड दिएको थियो ।

सम्मेलन समापनका क्रममा दक्षिणपूर्वी एशियाली देशमा भएका घटनाको समीक्षा पनि भएको थियो । कोभिड–१९ को महामारीका कारण दुई वर्षसम्म आमनेसामने वार्ताको अवसर नपाएका नेताले ‘साइड लाइन’ वार्तामा क्षेत्रीय र अन्तर्राष्ट्रि चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।

शिखर सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले खुला व्यापार र लगानीका निम्ति आह्वान गर्नुभएको थियो । उहाँले बहुपक्षीयतालाई वास्तविक रुपमा कायम राख्नुपर्ने, बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्ने, विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्न तथा विश्वव्यापी औद्योगिक एवम् आपूर्ति शृङ्खलालाई सुरक्षित एवम् स्थिर राख्न साझा प्रयास हुनुपर्नेमा विशेष जोड दिनुभएको थियो । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया