काठमाण्डौंः इटालीको इस्चिया टापुमा भारी वर्षाका कारण गएको पहिरोमा परी शनिबार कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
“इस्चियामा पहिरोमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ,”पूर्वाधार मन्त्री तथा उपप्रधानमन्त्री माटियो साल्भिनीले भन्नुभयो । यसअघि समाचारमा १३ जना हराइरहेको जानकारी प्राप्त भए पनि आधिकारिक पुष्टि भने भएको छैन ।
सानो शहर कासामिसिओला टर्मेमा बिहान सबेरै हिलोको छालले कम्तीमा एउटा घर पुरेको र केही सवारी साधनलाई बगाएर समुद्रसम्म पु¥याएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
एएनएसए समाचार संस्थाका अनुसार मृतकमध्ये एक नवजात शिशु पनि रहेको पुष्टि भएको छ ।
एउटा घर हिलोले पुरिएको र समुद्रमा पुगेको कारबाट दुई जनाको उद्धार गरिएको दमकल सेवाले जनाएको छ ।थप उद्धारका नजिकैको प्रमुख शहर नेपल्सबाट सहयोग पठाइए पनि मौसमका कारण टापुमा पुग्न कठिन भएको बताइएको छ ।
नागरिक सुरक्षा विभागले ट्वीटरमा भनेको छ, “हराइरहेकाको खोजी, उद्धार र जोखिममा परेका मानिसहरुलाई सहयोग गर्ने कार्य जारी छ । मौसमका कारण उद्धार कार्यमा कठिनाई भएको छ ।”
स्थानीय अधिकारीहरूले इस्चियाका बासिन्दाहरूलाई उद्धार कार्यमा बाधा नपुगोस् भनेर घरभित्रै बस्न आग्रह गरेका छन् । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया