असार ३१, २०८२ मंगलबार July 15, 2025

अङ्ग्रेजी माध्यमको पढाइले विद्यार्थीको आकर्षण बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्नुहुन्छ । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम ।

कक्षा ७ मा पढ्ने उहाँ घर अर्खबाङ्गदेखि मालिका–३ ह्वाङ्दीमा पुग्नुहुन्छ । उहाँसँगै दीक्षा अर्याललगायतका करिब ५० जना विद्यार्थीहरू गाउँको विद्यालय छाडेर लामो यात्रा गरी पढ्न जानुहुन्छ ।

“त्यति टाढाको विद्यालय नगए पनि हुन्थ्यो भन्ने लाग्छ, आउँदा जाँदा एक झर पानी परे मेरा आँखाबाट आँसु झर्छन्”, अर्खबाङ्गकी ७३ वर्षीया तिलमती बुढाले भन्नुभयो, “नाति–नातिनाको भविष्यका लागि जोखिम मोलेरै भए पनि पढ्न पठाउनुपरेको छ ।”

मालिका–३ मा रहेको देवीस्थान माध्यमिक विद्यालय अङ्ग्रेजी माध्यमबाट कक्षा १० सम्म अध्यापन हुने गाउँपालिकाकै एउटा मात्रै विद्यालय हो । विसं २०५० मा स्थापना भएको विद्यालयमा २०६७ देखि अङ्ग्रेजी माध्यमको पढाइ सुरु भएको प्रधानाध्यापक नारायणप्रसाद अर्यालको भनाइ छ । विद्यालयमा अहिले दुई सय ५७ विद्यार्थीले अङ्ग्रेजी माध्यमबाट पढिरहेको उहाँले जानकारी दिनुभयो ।

अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएपछि विद्यालयमा छिमेकी जिल्ला बागलुङको निगलपानी, चिसापानी र गङ्गरेका विद्यार्थी आउने गरेका छन् । गाउँमा एकमात्र अङ्ग्रेजी माध्यमको विद्यालय भएपछि टाढाका विद्यार्थी पढ्नका लागि आउने गरेको विद्यालयका विज्ञान शिक्षक विकास तामाङले जानकारी दिनुभयो ।

विद्यालयमा स्थायी दरबन्दीको अभावका कारण आर्थिक जोखिम मोल्दै भए पनि विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइरहेको छ । चार जना प्राथमिक तहका स्थायी शिक्षकसहित तीन निम्न माध्यमिक र एक माध्यमिक तह गाउँपालिका अनुदान शिक्षक छन् । बाँकी छ शिक्षक र तीन कर्मचारी निजी स्रोतमा छन् ।

गाउँका अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या निरन्तर घट्दा पनि अङ्ग्रेजी माध्यमले गर्दा यस विद्यालयमा विद्यार्थी नघटेको प्रधानाध्यापक अर्यालको भनाइ छ ।

पुल नहुँदा सास्ती

अर्खबाङ्गबाट देवीस्थान माध्यमिक विद्यालयमा पुग्नका लागि दुई ठूला खोला तर्नुपर्दछ । जुन वर्षायाममको समयमा एक्लै र सहजै तर्न सकिन्न । एउटा खोलामा सामान्य झोलुङ्गे पुलले सहज भए पनि अर्को खोलामा पुल नहुँदा वर्षायाममा विद्यार्थी विद्यालय जान पाउँदैनन् ।

कक्षा १० मा पढ्ने जगत विकले आफूहरू प्रत्येक वर्षको वर्षायाममा जोखिम मोल्नुपरेको बताउनुहुन्छ । “बर्खामा खोला तर्न सकिन्न, खोला तर्न नसक्दा यसपटक एक साताभन्दा बढी समय विद्यालय जान सकिन”, उहाँले भन्नुभयो । आफूसँगै अरू सबै विद्यालय बर्खामा विद्यालय जान नपाएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष ज्ञानबहादुर बुढाले पुल बनाउन अहिलेसम्म गाउँपालिकाबाट पहल नभएको बताउनुभयो । सालझण्डी–ढोरपाटन अन्तर्गतको सडक भएकाले त्यसको मातहतबाट छिट्टै काम हुने उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग राजमार्गका तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
२०८२ असार ३१, मंगलबार
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार