असार ३१, २०८२ मंगलबार July 15, 2025

राममणि बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखी क्याम्पसको शनिबार सम्पन्न दोस्रो क्याम्पस सभाले नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न साधारण सभाले ध्रुवकुमार धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । त्यसैगरी क्याम्पस सभाले निवर्तमान अध्यक्ष एवम् क्याम्पसका संस्थापक रोमणीप्रसाद पाठकलाई क्याम्पसको संरक्षक चयन गरेको छ ।

त्यसअघि क्याम्पस सभाको उद्घाटन गर्दै राष्ट्रिय सभाका सांसद् गोपाल भट्टराईले राममणि क्याम्पसलाई अझ उत्कृष्ट बनाउने दायित्व सबैको रहेको उल्लेख गरे । सबैको प्रशंसा बटुलिरहेकोे राममणि आगामी दिनमा थप गतिशील बन्दै जाने विश्वास व्यक्त गरे ।

त्यसैगरी, नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले आफू तिलोत्तमाको नगरकारुपमा हुँदादेखि नै राममणिका क्रियाकलापबाट खुशी भई सहयोग गरेको भन्दै आगामी दिनका लागि सद्भाव बढेर गएको बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरका तत्कालीन सातवटा गाउँ विकास समितिलाई उन्नत बनाउन राममणि क्याम्पसको भूमिका उल्लेखनीय रहेको भन्दै नगरको प्रतिष्ठाको रूपमा रहेको राममणि सबैको प्रयासमा देशकै अग्रणी संस्था बन्नेतिर उन्मुख भएको उल्लेख गरे ।

त्यसअघि क्याम्पसका उपाध्यक्ष धु्रवकुमार धितालको स्वागत तथा उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको क्याम्पस सभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै रोमणीप्रसाद पाठकले क्यू.ए.ए. प्राप्ति, स्नातकोत्तर तहसम्मको नतीजामुखी पठनपाठन, ४ वटा संकायमा हजार भन्दा बढी विद्यार्थी, राष्ट्रिय औसत दरलाई नाघेर अझ माथिको नतीजा एवम् भौतिक पक्षमा सबल संस्था बन्नुमा सामुहिक सत्प्रयास सम्भव भएको भन्दै आभार व्यक्त गरेका थिए ।

नयाँ नेतृत्व चयनका लागि बनेको प्रा.डा. गणेशप्रसाद पाठक नेतृत्वको निर्वाचन मण्डलले अध्यक्ष धिताल सहित कृष्णप्रसाद पौडेल र यज्ञमूर्ति गैरे सदस्यमा निर्वाचित भएको घोषणा गरेको थियो ।

त्यसलगत्तै बसेको सञ्चालक समितिले नेत्रलाल वन, विष्णुप्रसाद पौड्याल, मिनाक्षी न्यौपाने, ज्ञानु पाण्डे र तारानाथ कंडेललाई चयन गरेको क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया