असार ३१, २०८२ मंगलबार July 15, 2025

‘शिक्षा प्रणाली विश्वमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने खालको हुनुपर्छ’ – अध्यक्ष तिमिल्सिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शिक्षा प्रणालीलाई विश्वको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेस्तरको बनाउनुपर्ने बताउनुभएको छ ।

नवलपरासीपूर्व नवलपुरको कावासोतीमा रहेको शिव माध्यमिक विद्यालयको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा आफ्नो भनाइ राख्दै उहाँले शिक्षाको गुणस्तर वृद्धि गरी विश्वव्यापीरूपमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने गरी लाग्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘हामी नेपालको प्रतिस्पर्धी जनशक्तिमात्रै होइन, विश्वको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेतर्फ केन्द्रित हुनुपर्छ, यसका लागि गुणस्तरीय शिक्षाको खाँचो छ ।’

उहाँले राज्यको ध्यान विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी दिनेतर्फ हुनुपर्ने बताउनुभएको छ । कतै विद्यालयमा विद्यार्थी कम, शिक्षक बढी र कतिपय विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै र शिक्षक कम भएर राम्रो पठनपाठनमा समस्या हुने गरेको बताउँदै विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन लाग्नुपर्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षाको विकासका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

सामान्यतया एउटा विद्यार्थीलाई प्रारम्भिक चरणदेखि कक्षा १२ सम्म कम्तीमा १२ वर्ष लगानी गरेपछि जनशक्ति तयार हुने बताउँदै यसैअनुसार योजना र लगानी गर्नुपर्ने उहाँले बताउनुभयो ।

कावासोतीको शिव माविमा भएको कार्यक्रम राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र मुख्यमन्त्री पोखरेलले विद्यालयको दुईवटा नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया