असार ३१, २०८२ मंगलबार July 15, 2025

१४ वर्षपछि स्ववियु चुनाव हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले पटक–पटक स्थगित हुँदै आएको स्वतन्त्र विद्यार्थी युनियन चुनाव गराउन तयारी थालेको छ । आगामी फागुनमा चुनाव गराउन विद्यार्थी संगठनसँग अनौपचारिक छलफलमा रहेको विश्वविद्यालयले मंगलबार डिनहरूसँग परामर्श गरेको छ ।

शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ । परिषद्मा ९ वटै संस्थान र संकायका डिन सदस्य रहन्छन् । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले फागुन १४ गते नै चुनाव गराउने कि अघिपछि भन्नेमा टुंगो लागिनसकेको बताए । ‘बुधबार बैठक बसेर चुनावको निर्णय गर्छौं,’ अधिकारीले मंगलबार कान्तिपुरसँग भने, ‘मिति घोषणापछि विद्यार्थी संगठनबाट अनुमोदन गरेर अघि बढ्छौं ।’

२०६५ मा देशभरका त्रिवि क्याम्पसमा स्ववियु चुनाव भएको थियो । त्यसयता नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ मा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्यतिबेला निर्वाचित पदाधिकारीको कार्यकाल म्याद थपपछि पनि सकिइसकेको छ । त्रिविअन्तर्गत केन्द्रीय क्याम्पससहित ६२ आंगिक क्याम्पस र १ हजार ४० वटा सामुदायिक र निजी क्याम्पस छन् ।

स्ववियु चुनाव अनियमित हुँदा विश्वविद्यालय सभादेखि क्याम्पसका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन । विद्यार्थीमा शैक्षिक अराजकता मौलाएको आरोपसमेत लाग्दै आएको छ । २०७४ र २०७६ मा पनि स्ववियु निर्वाचन तयारी थालेर अन्तिम समयमा स्थगन गरिएको थियो । राजनीतिक दल र ठूला विद्यार्थी संगठन तयार नहुँदा स्ववियु चुनाव अनिश्चित बन्दै आएको विश्वविद्यालयका पदाधिकारीहरू बताउँछन् । विद्यार्थी संगठनले भने निर्वाचन गराउन विश्वविद्यालयका पदाधिकारी गम्भीर नभएको गुनासो गर्दै आएका छन् ।

हरेक २ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन गर्ने त्रिविको कार्यतालिका छ तर २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएदेखि बिथोलिँदै आएको छ । यस प्रणालीमा २८ वर्ष पूरा नभएका मात्रै उम्मेदवार बन्न पाउँछन् । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष र उपसभापति, सहसचिव, सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ ।

विश्वविद्यालयले आंगिक क्याम्पसमा निर्वाचन गराउने र सामुदायिक/निजी क्याम्पसमा पनि सोही मितिमा गराउन आग्रह गरिने निर्देशनालयले जनाएको छ । निर्वाचन गर्न उपकुलपति धर्मकान्त बाँस्कोटाले कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत छलफल गरिसकेका छन् ।

देउवाले निर्वाचन गराउन निर्देशन दिएको त्रिवि स्रोतले जनाएको छ । उपकुलपति बाँस्कोटाले निर्वाचनका लागि कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका नेतासँग पनि छलफल थालेका छन् । राजनीतिक दल र विद्यार्थी संगठनका नेतृत्वबाट सकारात्मक प्रतिक्रिया पाएको त्रिविका पदाधिकारीहरूले बताए । ‘निर्वाचनका लागि तथ्याङ्क संकलनलगायतको काम भइरहेको छ, यसपालि जसरी पनि निर्वाचन गर्ने तयारी छ,’ निर्देशनालय प्रमुख अधिकारीले थपे ।

एमालेनिकट अनेरास्ववियुले स्ववियु निर्वाचन गराउन उपकुलपति बाँस्कोटालाई अघिल्लो साता ज्ञापनपत्र बुझाएको थियो । अनेरास्ववियुका उपाध्यक्ष आरसी लामिछानेले जुन कुनै हालतमा यही वर्ष निर्वाचन गरिनुपर्ने बताए । ‘स्ववियु निर्वाचन गराउनु विश्वविद्यालयको दायित्व हो, विगतमा विश्वविद्यालयका पदाधिकारीको लाचारीपनले चुनाव हुन सकेन,’ उनले भने, ‘यसपालि कुनै पनि बहानामा निर्वाचन टार्नु हुँदैन ।’

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन गराउन आफ्नो संगठन तयार रहेको बताए । ‘विश्वविद्यालयलाई निर्वाचनको तयारी अघि बढाउन आग्रह गरेका छौं,’ उनले भने, ‘नेविसंघ निर्वाचनको पक्षमा छ ।’ अब गठन हुने सरकार, राजनीतिक दल र विद्यार्थी संगठनले सहयोग गरे यो वर्षभित्रै निर्वाचन गर्न सकिने त्रिवि पदाधिकारीहरूको भनाइ छ । स्थानीय तह, प्रदेश र संघको पनि निर्वाचन सकिएकाले अब विद्यार्थी युनियनको चुनाव गर्न उपर्युक्त हुने उनीहरूको धारणा छ ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विश्वविद्यालयसँग स्ववियु निर्वाचनको माग गर्दै आए पनि हुन नसकेको बताइन् । ‘चुनाव नहुँदा विद्यार्थी आन्दोलनको नेतृत्व उत्पादन गर्ने नर्सरी नै बन्द भएको छ,’ उनले भनिन् । क्रान्तिकारीले निर्वाचनको माग गर्दै आन्तरिक रूपमा तयारीसमेत थालेको उनको भनाइ छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार