काठमाडौंः शैक्षिक परामर्श संस्थाहरुले विदेश अध्ययनमा जाने विद्यार्थीहरुको एनओसीमा नक्कली धन्दा गर्न थालेपछि वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी)ले कडाई गर्ने भएको छ । एउटै विद्यार्थीको नामबाट एनओसी पटक पटक लिने, विद्यार्थीको झुटो विवरण पेश गर्ने, नक्कली कागजात खडा गरेर आवेदन दिने र एउटै विद्यार्थीको नामबाट धेरै पटक एनओसी लिएपछि यसलाई रोक्नका लागि कडाई गर्ने भएको हो ।
शिक्षा मन्त्रालयका अनुसार विद्यार्थीले अध्ययनका लागि जान चाहेको देशको भिसा नलागेपछि अर्को देशमा जान पुनः एनओसीको आवश्यकता पर्ने हुनाले शैक्षिक परामर्श संस्थाहरु आफैले अरुको नामबाट आवेदन दिने र अरुको नागरिता नम्बरलाई मिलाई नक्कली नम्बर बनाई आवेदन दिने लगाएतका नक्कली धन्दा गरेको जानकारी दिएको छ ।
वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख वासुदेव वस्तीले अनलाइन आवेदन दिई रूजू पश्चात् राजस्व समेत तिरिसकेका विद्यार्थीहरूलाई अनलाइन आवेदन दिंदा अपलोड भएको अफर लेटरको मिति तथा इन्टेक नसकिउन्जेलसम्मका लागि मात्र सोही आइडी तथा राजस्व भुक्तानीबाट एनओसी दिने अन्यथा नयाँ देश, नयाँ विषय, नयाँ इनटेकको लागि पुरानै राजस्व भुक्तानी भएको आईडी लाई आवश्यकताअनुसार सम्पादन र सामग्री अपलोड गरी नयाँ एनओसी लिने कुरालाई निषेध गरिएको बताए ।
उनले अनलाइन आवेदन दिंदा आवेदकले नाम, विषय, तह, ठेगाना आदिमा गरेको गल्तीलाई निजले इस्सुईङ अफरलाई भने बमोजिम तथा रितपूर्वक पेस भएको कागजातमा उल्लिखित विवरणअनुसार सम्पादन गरेर एओसी जारी गर्ने तर एओसी जारी गरेको एकाध दिन, हप्ता वा महिना पश्चात् सम्पादन गर्न आउने आवेदकहरूलाई पुनः अनलाइन आवेदन गर्न लगाई तत्काल आवेदन रूजू गरी राजस्व सङ्कलन गर्न लगाई सम्पादित एनओसी जारी गर्ने गरिएको जानकारी दिए ।
यसले गर्दा थप राजस्व सङ्कलन भई राजस्व छली गर्ने कार्यमा निरुत्साहन हुन पुगेको र अर्कोतिर शुद्धतालाई ध्यान दिई आवेदन गर्ने आवेदकहरूको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको उनको भनाई छ ।
त्यसैगरी उनी आईसके पछि एनओसी शालाई धेरै व्यवस्थित गरीएको र ढोकाबाट नभई झ्यालबाट पसेर संस्थाको नाममा तथा भनसुनको आधारमा समूहको एकैचोटि रूजू गराउने र एकैचोटि एनओसी जारी गराउने गलत प्रवृत्तिलाई सुरूदेखि नै निषेध गरेका छन् । यसप्रकारको ठेक्कापट्टालाई पूर्णतः बन्देज गरी एनओसी शाखामा सँस्कृतिको रुपमा रहेको विषयलाई क्रमभङ्ग गरेको कारणले गर्दा यसको निरन्तरताको लागि दवाव आउने तथा दवाव दिने गरेको समेत पाईएको छ ।
सेवाग्राहीहरूबाट कतिपय एजुकेशन कन्सटेन्सीले एनओसी राखेर हराइदिएको गुनासो गर्ने गरेको र यसको लागि सेवाग्राहीलाई समग्र विवरण खुलाएर आवेदन दिन र सुनुवाईको लागि सहजीकरण गर्ने कार्यको थालनी समेत शाखाले गरेको छ ।
एनओसी हराएको भनी पेस हुने पुलिस रिपोर्टले उच्च शिक्षा अध्ययनको निमित्त विद्यार्थीबाट रिफण्ड नभएको सटही वैदेशिक मुद्रा सम्बन्धी विवरण ढाकछोप गर्न सहयोग पुग्ने भएकोले पुलिस रिपोर्टसँगसँगै रिफण्ड बैङ्क स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
एजुकेशन कन्सलटेन्सीको धुर्त्याईंपूर्ण चालवाजीमा सम्बन्धित वैदेशिक विश्वविद्यालयले रिफण्ड हुनुपर्ने सटही वैदेशिक मुद्रा रिफण्ड प्रोसेसमा छ भनी पठाएको लिखित पत्रलाई मान्यता नदिई बैंक खाता मार्फत् ट्रासफर भएर गएको रकम रिफण्ड हुँदा पनि सोही बैंकबाट हुनुपर्ने र सम्बन्धित बैंकद्वारा प्रेषित बैङ्क स्टेटमेन्टलाई मात्र मान्यता दिइएको छ ।
तोकिएको समय र मितिको आधारमा सेवाग्राहीलाई सेवा प्रदान गरिएको तथा आपतकालिन अवस्थामा बाहेक तोकिएको मिति र समय अगावै एनओसी लिन आउने सेवाग्राहीलाई फर्काउने कार्यको सुरूवात गरिएको छ ।
केही शैक्षिक परामर्श संस्थाहरुले झुक्याएर एओसी लिन खाजेपछि संस्थालाई नभएर सम्बन्धित सेवाग्राही र सम्बन्धित सेवाग्राहीको अनुपस्थितिमा एकाघरको परिवारलाई मात्र सक्कल नागरिकता प्रमाण पत्रको आधारमा एओसी दिने कार्यलाई कडाइका साथ कार्यान्वयन गरिएको छ ।
नो अब्जेक्सन लेटरमा क्युआर कोड राखिने :
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एनओसीलाई व्यवस्थित बनाउनका लागि क्युआर कोर्ड सहित पूर्ण अनलाईनको व्यवस्था गर्न लागिएको जनाएको छ । वैदेशिक अध्ययन अनुमति शाखामा विद्यार्थीको ठुलो चाप हुने गरेकोले विद्यार्थीको सहजताका लागि अनलाईनबाटै क्युआर कोडसहितको एनओसी उपलब्ध गरेउने तयारी गरेको हो ।
अध्यागमनसँग, बैङ्क लगायत सरोकारवाला विभाग वा मन्त्रालयसँग इन्ट्रिग्रेड गरिने र विद्यार्थीको सम्पुर्ण विवरण क्युआर कोडबाट हेर्न मिल्ने भएकोले ट्रयाकिङ गर्न सहज हुने मन्त्रालयको भनाई छ । साथै विद्यार्थीको इमेलमै एनओसी जाने हुनाले एजुकेशन कन्सल्टेन्सीले गर्ने नक्कली धन्दा बन्द हुने मन्त्रालको भनाई छ । यसका लागि प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पेस भइसकेको र छिटै नै कामलाई अगाडी बढाइने जनाएको छ ।
त्यसैगरी अनलाइनलाई बैङ्कसँग इन्ट्रिग्रेड गरी एनओसीका आधारमा विदेशी मुद्राको सटही विवरण अनलाइनमा राखिने भएको छ । विद्यार्थीले कति साट्यो, कुन मितिमा साट्यो लगायतका सम्पुर्ण विवरण मन्त्रालयले अनलाइनबाटै हेर्न मिल्ने गरी काम थालिएको जनाएको छ ।
साउन यता ३८ हजार ६१ जनाले लिए नो अब्जेक्सन लेटर :
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार साउन यता पाँच महिनाको अवधिमा विदेश अध्ययनका लागि जान चाहने ३८ हजार ६१ जनाले ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिएका छन् ।
गत आर्थिक वर्ष २०७८÷७९ मा करिब एक लाख १४ हजार जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । सबैभन्दा बढी उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहानेहरुले १० हजार ७ सया ९९ जनाले पत्र लिएका छन् । जापानका लागि छ हजार ६ सय २५ जना, क्यानडाका लागि छ हजार ५ सय ३१ जना, बेलायतका लागि पाँच हजार ३ सय ०४ जनाले यस्तो पत्र लिएका छन् ।
भारतका लागि एक हजार ९० जना, यूएईका लागि ९ सय १३ जना, रुसका लागि ९ सय ७२ जना, कोरियाका लागि ७ सय ४४ जना तथा न्युजिल्यान्डका लागि ३ सय ९६ जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । सबैभन्दा कम अल्बानिया, अजरबैजान, आइसल्यान्ड, जर्जिया, पाकिस्तान र स्विट्जरल्यान्डका लागि एक/एक जनाले यस्तो पत्र लिएका छन् । अमेरिकाका लागि एक हजार ५ सय ५९ जनाले मात्र ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । त्यसैगरी चीन, साइप्रस, डेनमार्क, फ्रान्स, जर्मनी, थाइल्यान्डमा जाने विद्यार्थीको सङ्ख्या पनि उल्लेखनीय रहेको छ । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया