काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
शुक्रबार साँझ देउवा निवास धुम्बाराही पुगेका अध्यक्ष नेपालले सभापति देउवासँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेको बताइएको छ । यद्यपि, दुईबीचको भेटमा खास कुराकानी के भएको हो भन्ने विषयमा बाहिर यकिन जानकारी आएको छैन । तर, दुईबीचको भेटलाई निकै अर्थपूर्ण लिइएको छ ।
अध्यक्ष नेपालले सभापति देउवासँगै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग पनि देउवा निवासमा भेट गरेका छन् । देउवा निवासबारे महामन्त्री शर्माले कसैलाई कांग्रेसले प्रधानमन्त्रीमा अफर नगरेको बताएका छन् । तर पनि भेटबारे विस्तृत रुपमा जानकारी दिएका छैनन् ।
तत्कालीन कांग्रेस–माओवादी–एकीकृत समाजवादीसहितका दलहरुको गठबन्धन भंग बनेपछि बनेको अहिलेको एमाले–माओवादीसहितको सरकारमा एकीकृत समाजवादी बाहिरै छ । प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन पटक पटक आग्रह गरे पनि एकीकृत समाजवादी ‘हेर र पर्ख’ को स्थितिमा छ ।
त्यसो त प्रधानमनत्री प्रचण्डले आगामी पुस २६ गते नै विश्वासको मत लिँदैछन् । र, विश्वासको मत लिन लागेका पूर्वसन्ध्यामा देउवा–नेपालबीचको भेट निकै अर्थपूर्ण मानिएको छ । यसअघि सभापति देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाएर नयाँ सरकार बनाउन प्रस्ताव राखेको समाचार बाहिरिसकेको छ । र, राप्रपा स्वंयले त्यस विषयमा साँचो खबर आएको तर, पद लोभमा नफस्ने भनेको छ ।
राजनीतिले नयाँ नयाँ मोड लिइरहेको अवस्थामा देउवा–नेपालबीचको भेट अहिले निकै चासोपूर्ण हेरिएको छ । मतलब के उनीहरु फेरि मिलेर अहिलेको सरकार हटाउने चलखेल गरेको हुन् ? कांग्रेस–एकीकृत समाजवादी दलसहितका अन्य साना दललाई समेटेर राजनीतिको नयाँ ‘खिचडी’ त बनाउन लागिएको होइन भन्ने सवाल अहिले चौतर्फी उठेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया