काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेअनुसार आफ्नो पार्टीले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभापति देउवाले प्रधानमन्त्री दाहाल संविधानको रक्षाको पक्षमा उभिनेछ भन्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले मुलुकमा विद्यमान चुनौतीको सामाना गर्दै देश र जनताको हितमा काम गर्नेछन् भन्ने विश्वासका साथ तत्कालका लागि उनले राखेको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने सभापति देउवाले बताए।
सभापति देउवाले भने, “सरकारलाई सदनकाप्रति र सदनलाई जनताकाप्रति पूर्णरुपले जवाफदेही बनाउनका लागि संसद्मा एक जिम्मेवार र सशक्त विपक्षी दलको उपस्थिति आवश्यक हुन्छ । प्रभावकारी विपक्षीको अभावमा सरकार निरकुङ्श हुन जाने, स्वच्छेचारी नीति कानुन बन्न सक्ने, सत्ता पक्ष आफ्नो कर्तव्यबाट बिमुख हुने, शक्ति पृथकीकरण र सन्तुलन कमजोर हुने सम्भावना रहन्छ।”
संसद् आफैँ पनि देश र जनताको बृहत्तर हितमा काम गर्न सक्ने जन उत्तरदायी संस्थाका रुपमा नरहन सक्दछ । त्यसकारण आफूहरुले बहुलवाद र बहुदलीयतासहितको प्रतिस्पर्धात्मक संसदीय व्यवस्था रोजेको उनले बताए ।
सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु संसद्को एक महत्वपूर्ण काम भएको बताउँदै उनले सरकारमाथि निरन्तर नियमित रुपले निगरानी राख्नु, सरकारका सबै कामको अनुगमन गरी उचित मूल्याकङ्न गर्नु, सरकारका गुण र दोष केलाउनु पनि संसद्को कर्तव्य भएको उल्लेख गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया