असार २८, २०८२ शनिबार July 12, 2025

भ्रष्टाचार राज्यविरुद्धको अपराध : राष्ट्रपति भण्डारी

मुलुक र संविधानप्रतिको निष्ठा एवं जनताप्रतिको समर्पणबाट मात्र भ्रष्टाचार न्यूनिकरण हुँदै जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवं भौतिक विकासमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताइन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार राष्ट्रपति भण्डारीले मुलुक र संविधानप्रतिको निष्ठा एवं जनताप्रतिको समर्पणबाट मात्र भ्रष्टाचार न्यूनिकरण हुँदै जाने बताइन्।

उनले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको बताइन्। भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्‍याउने उनको भनाइ छ। राष्ट्रपति भण्डारीले भ्रष्टाचारका कारण नागरिकमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुने बताइन्।

भ्रष्टाचारले सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पतीको दोहन, द्वन्द्वको सिर्जना र अन्तर्राष्ट्रिय सम्मानमा समेत कुठाराघात गर्ने हुँदा भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेकोमा उनको जोड छ। उनले संस्थागत रूपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने कार्य आयोगको एकल प्रयासबाट मात्रै सम्भव नहुने राष्ट्रपति भण्डारीको भनाइ छ।

कानुनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यक रहेको बताइन्। उनले लोकतन्त्रमा राजनीतिक परिवेश बदलिने विषयलाई स्वभाविक रुपमा लिँदै संविधान र कानुनले निर्दिष्ट गरेका दायित्व पूरा गर्न आयोग सदैव अग्रसर रहनुपर्ने बताइन्।

उनले प्रशासनिक सेवालाई जनमुखी बनाउन समयअनुकूल सुधार गर्ने, सेवाप्रवाहलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने तथा सार्वजनिक निकायबाट गरिने खरिद प्रक्रियामा उत्तरदायित्व स्थापित गर्ने कार्यबाट भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरिन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया