काठमाण्डौंः सरकारले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आजै उक्त संशोधित विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि गरेको छ।
प्रधानमन्त्री दाहाललाई पक्राउ गर्न माग गरिएको रिट फागुन २३ गते सर्वोच्च अदालतमा दर्ता भएको छ। रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ द्वन्द्वपीडितहरूको रिट दर्ता भएको हो। उक्त रिटको पेशी पनि आजकै लागि तोकिएको छ।
गत कात्तिक २४ मा दरपीठ भएको रिट सर्वोच्चका न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको फागुन १९ को आदेशपछि दर्ता भएको हो।
निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गरेका छन्।
दाहालले २०७६ माघ १ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा १७ हजारमध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया