काठमाणंडौंः उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताउनुभएको छ ।
हेटौँडाको रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव आज सोमवार उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने अभियान शुरु गर्ने विश्वास दिलाउनुभयो ।
देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण पनि समृद्धिका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस अभियानमा साथ र सहयोग गरिदिन आग्रहसमेत गर्नुभयो । राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको उहाँको भनाइ छ । गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘हामी सुशासनको अभियान अगाडि बढाउँदै समृद्धिको बाटोमा निरन्तर लागिरहेका छौँ ।’
राष्ट्रका लागि गरेको योगदानका आधारमा दिने पदक निश्चित व्यक्तिको चलखेलमा सिफारिस हुने गरेको अवस्थालाई तोडेर पदकको मूल्याङ्कन उच्च राख्नका लागि तत्काल रोक्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । गृहमन्त्री श्रेष्ठका अनुसार पदक लिनेले किनेको जस्तो र सिफारिस गर्नेले बेचेको जस्तो अवस्था देखिएकाले पदकको गरिमा नै आँच आउने देखिएकाले यस्तो निर्णय गरिएको हो ।
बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले कानुनी समस्याका कारण एक सय वाटको रेडियोलाई प्रदेश सरकारले समेट्न नसकेको बताउँदै प्रदेश सरकार सञ्चारमाध्यमको विकासका लागि हरदम तयार रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमलाई नियमनसँगै उत्कृष्टताका लागि प्रोत्साहन गर्ने बताउनुभयो ।
बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले वर्तमान सरकारले सुशासनका लागि चालेको कदम स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिएर नागरिकजलाई राहत दिएको भन्दै सरकारलाई धन्यवादसमेत दिनुभयो । सबैले आफ्नो स्थानबाट कर्तव्यको पालना गरेमा सुशासन कायम गर्न सकिने मन्त्री मोक्तानको विश्वास छ ।
बाग्मती प्रदेश सरकारले पनि सुशासन कायम गर्दै प्रदेशलाई समृद्ध बनाउने योजनासहित अगाडि बढेको बताउँदै उहाँले अब प्रदेशमा युवालाई स्वरोजगार बनाउनेतर्फ प्रदेश सरकार लागेको जनाउनुभयो ।
निकास साप्ताहिक, रेडियो सन्देश र थाहा नेपालको अध्यक्ष सुनिल खड्काले सञ्चारको क्षेत्रबाट देश विकास र समृद्धिको यात्रामा लागि परेको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया