असार २६, २०८२ बिहिबार July 10, 2025

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि हो : प्रधानमन्त्री दाहाल

गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष र पहल गरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उहाँले यो निकै ठूलो उपलब्धि हो भन्नुभयो ।

“नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष र पहल गरेको छु, त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ”, उहाँले भन्नुभयो ।

आफ्नो नेतृत्वको नयाँ सरकारको आग्रहअनुसार राष्ट्रपतिबाट नागरिकता विधेयक सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको र नियमावली बनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मलाई विश्वास छ, विदेशमा रहनुभएका लाखौँ गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको सङ्घर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथी र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।”

गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरिएको उल्लेख गर्दै उहाँले विदेशी लगानीको न्यूनतम सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरिएको बताउनुभयो । “धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ, यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ”, उहाँले भन्नुभयो, “यो एउटा ऐतिहासिक काम भएको छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो सङ्ख्या अरु बढ्ने हाम्रो विश्वास छ ।”

संसारभरि रहेका नेपाली नेपालका गैरआवासीय दूत भएको उल्लेख गर्दै उहाँले नेपालले गैरआवासीय नेपालीबाट धेरै अपेक्षा गरेको बताउनुभयो । सरकारले सङ्घको स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको जनाउँदै उहाँले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएको बताउनुभयो ।

सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेसँगै ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अभियान सार्थक भएको बताउनभयो । गैरआवासीय नेपालीको चाहनालाई सरकारले सम्बोधन गरेको उल्लेख गर्दै उहाँले सरकार र सम्पूर्ण राजनीतिक दलप्रति आभार प्रकट गर्नुभयो । “यो (नागरिकता) कागज होइन, अभिभारा पनि हो, यसबाट ठूलो अभिभारा थपिएको छ, विदेशमा बस्ने नेपालीले मातृभूमिको समृद्धिमा योगदान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष कुल आचार्यले मुलुकको विकासमा ‘डास्पोरा’को महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मुलुक बाहिर रहेका नेपालीलाई नागरिकताले मातृभूमिसँग जोडेको बताउनुभयो । सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कागजको टुक्रोमात्र नभई गैरआवासीय नेपालीको मुटुको अंश भएको बताउनुभयो । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने कानुनी प्रबन्ध गरेकामा सरकार र सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिँदै उहाँले नेपाललाई समृद्ध बनाउन गैआवासीय नेपाली लागि रहेन विश्वास दिलाउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार