असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालको कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपति पौडेलको आह्वान

साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नुभएको छ ।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा ​​काठमाडौँमा दुई दिनसम्म चल्ने ३७ औँ म्मेलनको सोमबार यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गर्नुभएको हो ।

“नेपालमा लगानीका अवसर बढ्दै गएका छन् र लगानी सहज बनाउने कानुनहरु निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु”, उहाँले भन्नुभयो ।

उहाँले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसर रहेको धारणा व्यक्त गर्नुभयो ।

“नेपाली विद्युतको बजार अब भारत र बङ्गलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीलाई अपिल पनि गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ ।

“आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशिला हो । साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्”, उहाँले भन्नुभयो ।

उहाँले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार पनि हो भन्नुभयो । “तपाईंहरुले यो भावनालाई अगाडि बढाइरहनु भएको छ र बढाइरहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो । राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला हुन् भन्नुभयो ।

उहाँले व्यापार हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । ‘यसले आर्थिक वृद्धिलाई मात्र हैन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न उर्जा प्रदान गर्दछन्’, राष्ट्रपति पौडेलले भन्नुभयो, “व्यवसाय क्षेत्रका सङ्गठनहरुले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाहरूको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औजार हुन् । यी गतिविधि कारोबार मात्र होइनन्, यिनले विश्वव्यापी बहुपक्षीयतावादलाई सबलीकरण गर्न योगदान गर्दछन् । फलस्वरूप पारस्परिक लाभदायक सम्बन्धमार्फत विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान गर्नेछ ।”

नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा हो भन्दै उहाँले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच गर्न खोज्ने व्यवसायहरूको लागि प्राकृतिक प्रवेशद्वार बनाउँछ भन्नुभयो ।

“दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक लगायतका क्षेत्रीय व्यापार सम्झौतामा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

नेपालको श्रम बजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक छ, यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायहरूको लागि सम्पत्ति भएको उहाँको धारणा थियो । उहाँले देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार हो, जसले खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर प्रस्तुत गर्दछ भन्नुभयो ।

प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ र यसमा आज हुने लगानीले भोलि प्रतिफल दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा सम्भावना भएका अन्य क्षेत्र भएकाले यी क्षेत्रमा पनि लगानी बढाउन उहाँले आग्रह गर्नुभयो ।

“म सबै सहभागीलाई भविष्यलाई दिगो, नवीन र समृद्ध आकार दिन उद्योग वाणिज्य र निजी क्षेत्रको शक्ति प्रयोग गर्न आग्रह गर्न चाहन्छु । आउनुहोस् सँगसँगै काम गरौं, हाम्रा अन्तर्दृष्टि बाँडौं र एक अर्कालाई हाम्रो व्यवसाय, हाम्रो समुदाय र हाम्रो संसारमा सकारात्मक प्रभाव पार्न प्रेरित गरौं”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले ३७ औं क्यासी सम्मेलन नेपालको व्यापार, लगानी र एसिया प्रशान्त क्षेत्रका देशहरूसँगको कनेक्टिभिटीलाई आगामी दिनमा अगाडि बढाउने औजार हुनेछ भन्नुभयो । यस सम्मेलनका विषय विश्वव्यापी चिन्ता मात्र होइन, नेपालको आर्थिक विकास र दिगोपनका लागि उत्तिकै सान्दर्भिक छन् भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार