श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

त्रिवि पनिकाद्वारा माघ १५ बाट अनलाइन सेवा दिने घोषणा

पुस ११ गतेबाट पनिकामा धर्ना जारी राखेको स्ववियुले सेवा कार्यान्वयन नभएसम्म आन्दोलनको कार्यक्रम यथावत रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले आगामी माघ १५ गतेबाट अनलाईनमार्फत् शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट प्रोभिजनल प्रमाणपत्र, प्रतिलिपि, पुनर्योग, विवरण सच्याउने लगायतका सेवा दिने घोषणा गरेको छ।

यसका लागि पनिकाले आइतबार नमुना परीक्षण समेत गरिसकेको छ। बल्खुस्थित पनिकाको कार्यालयको मूल गेटमा २२ दिनदेखि दैनिक धर्ना बसिरहेका विश्वविद्यालय स्ववियुको माग सम्बोधन गर्न अनलाई सेवा दिने जनाएको हो।

यद्यपि, पुस ११ गतेबाट पनिकामा धर्ना जारी राखेको स्ववियुले सेवा कार्यान्वयन नभएसम्म आन्दोलनको कार्यक्रम यथावत रहने स्पष्ट पारेको छ। आन्दोलनको नेतृत्व गरेका स्ववियु सचिव सिद्धान्त भट्टले स्ववियुको तर्फबाट राखेको माग पूरा नभएसम्म आन्दोलनको कार्यक्रम फिर्ता नगर्ने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘पनिकाले गरेको निर्णय स्वागतयोग्य भए पनि कार्यान्वयन नभएसम्मको लागि आन्दोलन जारी रहने छ।’ उहाँले पनिकाले १५ गतेबाट अनलाइन सेवा चालुु गरेपछि मात्र आन्दोलन फिर्ता लिने विषयमा निर्णय हुनसक्ने जानकारी दिनुभयो।

पनिकाले २०७२ सालमा २४ घण्टाभित्र प्रमाणपत्र उपलब्ध गराउने योजना बनाएको थियो । सो योजना कार्यान्वयन हुन सकेन। त्यसको तीन वर्षपछि पनिकाले फेरि सूचना जारी गरी २४ घण्टाभित्र प्रमाणपत्र उपलब्ध गराउने वाचा गरेको थियो।

पनिकाले पटक–पटक गरेको निर्णय कार्यान्वयन हुन नसकेपछि बाध्य भएर आन्दोलन गरेको जिकिर गर्दै स्ववियु सचिव भट्टले भन्नुभयो– ‘पनिकाले जारी गरेको सूचना हाम्रो मागको परिणाम हो। त्यसलाई कार्यान्वयन गराउने दायित्व स्ववियुको भएकाले जबसम्म कार्यान्वयन हुँदैन, तबसम्म आन्दोलन फिर्ता हुँदैन।’

पनिकाले मंगलबार सूचना जारी गरी आफ्नो शैक्षिक प्रमाणपत्र लिन अनलाइनबाट आवेदन दिएको एक साताभित्र विद्यार्थीलाई कलेजमै उपलब्ध गराउने सिस्टम विकास गरेको जनाएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले पनिकाको सेवालाई प्रविधिमुखी बनाएर विकेन्द्रीकरण गर्न सो व्यवस्था गरेको जानकारी दिनुभयो।

उहाँले पनिकाले गरेको निर्णय कार्यान्वयन भइसकेको दाबी गर्दै भन्नुभयो– ‘माघ १५ गतेबाट अनलाइनबाटै सबै विद्यार्थीले सबै प्रकारका प्रमाणपत्र हात पार्नेछन्। अब शैक्षिक प्रमाणपत्र लिन कार्यालय धाइरहनु पर्दैन पनिका आएर कुरिरहनुपर्ने झण्झटिलो व्यवस्था हटाउनेछौं ।’

केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबार बसेको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूद्वारा दिइने सेवा अनलाइनबाट हुने सूचना जारी गरेको थियो। पनिकाले यो सुविधा कसरी प्रदान गर्ने कार्यविधि भने माघ १० गते त्रिविको वेवसाइटमा हेर्न सकिने जनाइसकेको छ।

माग पूरा गर्न दवाव दिँदै स्ववियुले त्रिविका पदाधिकारी, डीन, निर्देशक, विभागीय प्रमुख र महाशाखा प्रमुखको सवारी साधन चल्न दिएको छैन। सबै सवारी साधन त्रिवि परिसरमा राखिएका छन्।

पनिकाले अनलाइन प्रणाली शुरू गर्ने घोषणा गरेकोले अब भने सवारी साधन चलाउन दिने विषयमा छलफल जारी रहेको स्ववियु सचिव भट्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘सायद आज बिहीबारबाट पदाधिकारीसहित उच्चतहका कर्मचारीको सवारी सञ्चालन हुनसक्छ।’

स्ववियुले शैक्षिक क्यालेन्डर, क्षेत्रीय पनिकालाई अधिकार दिने, पनिकामा राजनीतिक दलका कार्यकर्तालाई भर्ती गर्ने व्यवस्था अन्त्य गर्नुपर्ने, त्रिवि सेवा आयोगबाट परीक्षा लिएर कर्मचारी राख्नुपर्ने र परीक्षाका साथै प्रशासनिकलगायत सबै विषयबारे जानकारी लिन मिल्नेगरी टीयूएप निर्माण गर्नुपर्ने, पनिकाका कर्मचारीको खाजा खाने एकघण्टाको समय कटौती गरी ३० मिनेट बनाउनुपर्नेलगायतका माग राखेका छन्। माग पूरा नभएसम्म दबाबमूलक आन्दोलन जारी रहने स्ववियु सचिव भट्टको भनाइ छ। नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डलरदेखि दिनारसम्म : राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्रा विनिमय दर
२०८२ श्रावण ९, शुक्रबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
२०८२ श्रावण ९, शुक्रबार
सिरिज गुमाए पनि अन्तिम खेलमा पाकिस्तानको धमाकेदार जित
२०८२ श्रावण ९, शुक्रबार
आजको मौसम : देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार