काठमाण्डौंः सरकारले राष्ट्रिय प्राथमिकता र गौरवको आयोजनाका रूपमा घोषणा गरेको कालीगण्डकी करिडोरको गुल्मी–बागलुङ खण्ड ६ पटक शिलान्यास र उद्घाटन गर्दा पनि निर्माण पूरा भएको छैन । केही खण्डमा सवारी चल्न थाले पनि सडक जीर्ण छ ।
सरकारले २२ अर्ब लागत अनुमानसहित ०५९ मा भारत र चीन जोड्ने गरी सुनौलीदेखि मुस्ताङको कोरला नाकासम्म ४ सय ४७ किलोमिटर लामो उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग (कालीगण्डकी करिडोर) निर्माण अघि बढाएको थियो । २० वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको करिडोरको २१ वर्षमा झन्डै ५५ प्रतिशत काम सकिएको छ । अहिले सडकका विभिन्न खण्डमा सडक विस्तार, स्तरोन्नति र कालोपत्रेका काम भइरहेका छन् । तर, सडक निर्माण पूरा नहुँदै सडकका विभिन्न खण्ड पटक–पटक उद्घाटन र शिलान्यास हुने गरेका छन् ।
करिडोरको गुल्मी र बागलुङ खण्डमा धेरै पटक सुरुवात र उद्घाटन भएका हुन् । पाल्पा र म्याग्दी खण्डमा पनि सडक उद्घाटन भएको छ । ०३९ सालमै दुई देश जोड्ने सडकको अवधारणा अघि सारिएको थियो । सरकारले ०६४ सालमा राष्ट्रिय गौरवको आयोजना घोषणा गरे पनि निर्माण गति निकै सुस्त थियो । ठेक्का प्रक्रियाबाट करिडोर निर्माणले गति नलिएपछि सरकारले ०७० मा कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल गठन गरेर निर्माणको जिम्मा नेपाली सेनालाई लगाएको थियो । त्यसपछि सेनाले सडकको शिलान्यास र उद्घाटनको शृंखला चलाएको हो ।
सडकको पहिलो पटक ०७० फागुन ८ गते पूर्वमन्त्री गोकर्णराज विष्टले रुद्रवेणी हर्मिचौर खण्डको शिलान्यास गरेका थिए । त्यसपछि सेनाले ०७१ माघमा तत्कालीन अर्थमन्त्री रामशरण महतलाई हेलिकोप्टरमार्फत गुल्मीको अर्बेनीमा पुगेर हर्मिचौर–अर्बेनी खण्डको उद्घाटन र अर्बेनी–बागलुङ बलेवा खण्डको शिलान्यास गरेका थिए । मन्त्री महतसँगै सडक उद्घाटनमा तत्कालीन सचिव लीलामणि पौडेल पनि पुगेका थिए । ०७४ माघमा गुल्मीको पुर्तिघाट बागलुङ खण्डको तत्कालीन योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले पनि शिलान्यास गरेका थिए । सेनाको सडक निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईका अनुसार सडकको शिलान्यास, उद्घाटन र अनुगमनका लागि एमालेका पूर्वमन्त्री प्रदीप ज्ञवालीसहितको टोली पुगेको थियो । मन्त्री ज्ञवालीले ०७५ वैशाख १३ मा रिडी–हर्मिचौर खण्डको शिलान्यास गरेका थिए । उनैले २०७७ मंसिर १३ मा उक्त खण्डको कालोपत्रे स्तरोन्नतिको सुरुवात गरे । त्यस्तै, तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले पनि शिलान्यास गरेका थिए ।
सेनाका कार्यदल प्रमुख भट्टराईले सडक निर्माण, विस्तार र स्तरोन्नतिको काम तीव्र रूपमा अघि बढे पनि सधैं कामअनुसार बजेट निकासा नहुने समस्याले सबैलाई सडकको उद्घाटन र शिलान्यास गराउने गरिएको बताए । ‘काम भएपछि जसरी पनि बजेट निकासा गराउनैपर्थ्यो,’ उनले भने, ‘पदमा भएका व्यक्तिलाई ल्याएर देखाएपछि बजेट निकासामा सहज हुन्थ्यो, त्यसैले त्यहाँ ल्याएपछि काम भएको खण्डको उद्घाटन र नयाँको शिलान्यास गराउनैपर्थ्यो ।’
सडक उद्घाटनमा नेताहरू आफैंभन्दा पनि सेनाकै आग्रहमा त्यहाँ पुग्ने गरेको उनले बताए । करिडोरको आयोजना कार्यालय पाल्पाका प्रमुख शंकर पौडेलका अनुसार अहिले रिडी–हर्मिचौर खण्ड कालोपत्रको काम अन्तिम चरणमा पुगेको, गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवासम्मको ४४ किमि खण्डमा ३ अर्ब ३० करोड लागतमा कालोपत्रेको काम भइरहेको छ । त्यस्तै बागलुङ बलेवादेखि मालढुंगासम्मको १० किलोमिटर खण्डमा पनि ५५ करोड लागतमा सडक स्तरोन्नतिको काम भइरहेको छ ।
लुम्बिनी प्रदेशकै अर्घाखाँचीको अर्घाभगवती विमानस्थल पनि अहिलेसम्म ३ पटक शिलान्यास भएको छ । ०७३ असार १३ गते तत्कालीन उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले विमानस्थलको शिलान्यास गरेका थिए । शिलान्यासका बेला एक वर्षभित्रै विमानस्थलबाट हवाईजहाज उडाउने दाबी गरेका रायमाझीले पहिलो पटक शिलान्यास गरेको झन्डै २ वर्षभित्रै दोस्रो पटक सल्लाका रूख काटेर ०७४ चैत ११ गते फेरि शिलान्यास गरे ।
चुनावनजिक आएकाले विमानस्थललाई चुनावी नारा बनाउँदै उनले रूख काटेर विमानस्थलको प्रचार गरेका थिए । रूख काटेर चुनावी प्रचारका बेला पनि रायमाझीले ३ वर्षभित्रै विमान सञ्चालन हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर, ६ वर्षसम्म पनि निर्माणले गति लिएन । -कान्तिपुर दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया