श्रावण ७, २०८२ बुधबार July 23, 2025

पूर्व श्री ५ र दलहरूबीच तनाव बढ्दै, वार कि पार हुने सङ्केत !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गणतन्त्र घोषणाको डेढ दशकपछि तत्कालीन राजा र राजनीतिक दलहरूबीच चर्को द्वन्द्व सुरु हुने सङ्केतहरू देखापरेका छन् । मुलुकमा दल तथा तिनको नेतृत्वप्रति चरम असन्तुष्टि बढ्दै जाँदा पूर्व श्री ५ बाट विभिन्न गतिविधि सञ्चालन हुनुका साथै आक्रामक अभिव्यक्ति जाहेर भइरहेका छन् । पूर्व श्री ५ को क्रियाकलापबाट क्रुद्ध र विचलित हुन पुगेका वामपन्थी नेताहरूले उहाँलाई कडा चुनौती दिँदै राजदरबार हत्याकाण्डको अनुसन्धान एवम् छानवीन गर्ने भनेर तर्साउने प्रयास गरेका छन् ।

संसद्मा रहेका सबैजसो दलहरू गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने स्थितिमा अहिले पनि छन् । यसबीचमा सत्तापक्ष र विपक्ष दुवैले पूर्व श्री ५ प्रति चरम आक्रोश एवम् असन्तुष्टि प्रकट गरेका छन् । यसले राजाका विरूद्ध सबै दलहरू एकजुट हुने सङ्केत दिएको छ । मुलुकमा राजसंस्था पुनर्स्थापनाका पक्षमा जनमत बढ्दै गएको पाइएपछि आफूलाई राजावादी दाबी गर्नेहरू निकै उत्साही बनेका छन् र, तिनले आफ्नो नेताको रूपमा राजा स्वयम्लाई अघि सारिरहेका छन् । सत्र वर्षअघि राजा र संसद्वादी भनिने दलहरूबीच द्वन्द्व बढ्दा मुलुकमा गणतन्त्र घोषणा हुने परिस्थिति निर्माण भएको थियो । अहिले तिनै शक्तिहरूबीच उत्पन्न भएको तनावले कस्तो परिणाम हाशील गराउने हो- चिन्ता र जिज्ञासाको विषय बनेको छ ।

राजालाई बिनाप्रसङ्ग अभिनन्दन गराउने भन्दै एकथरीले उहाँलाई गाउँ डुलाउन थालेका छन् र, स्वयम् पूर्व श्री ५ पनि हौसिएर अलिक कडा ढङ्गले प्रस्तुत हुन थाल्नुभएको छ । नेपालमा राजसंस्थाको विस्थापन नेपाली जनताका कारण भएको थिएन, त्यसमा बाह्यशक्ति निर्णायक बनेको थियो । त्यसैले गणतन्त्र घोषणाको पन्ध्र वर्षभित्र राजाबाट अनुकूल परिस्थिति निर्माणका निम्ति बाह्यशक्तिसँगको भेटघाट तथा परामर्शलाई उच्च प्राथमिकता दिनुभएको थियो । तर, अहिलेसम्मका सबै प्रयासहरू परिणाममुखी हुन नसकेपछि पूर्व श्री ५ जनजागरण अभियानमा सक्रिय हुनुभएको छ ।

हिजो राजाले सबैको विश्वास कायम राख्न नसक्दा गणतन्त्र घोषणा भएको थियो, अहिले पनि स्थितिमा तात्विक अन्तर आइसकेको बुझिन्न । दल तथा तिनका नेताहरूप्रतिको असन्तुष्टि कहिले कसरी त कहिले कसरी प्रकट हुने क्रममा अहिले राजालाई अघिसारेर प्रकट गर्ने कार्य भइरहेको छ, जुन कार्य पूर्व श्री ५ का निम्ति अत्यन्त जोखिमपूर्ण एवम् घातक हुनसक्ने सम्भावना छ ।

मुलुकको एकथरी राजनीतिक शक्तिलाई परास्त गरेर राजसंस्था पुनर्स्थापना हुन सक्छ कि सक्दैन भन्ने प्रश्न एकातिर छ भने अर्कोतिर यसरी एकथरीलाई उपेक्षा या परास्त गरेर कदाचित पुनर्स्थापना भइहालेको अवस्थामा पनि कति टिकाउ हुनसक्ला भन्ने गम्भीर प्रश्न खडा भएको छ । अन्तर्राष्ट्रिय परिस्थितिसमेत अनुकूल नबनाइकन राजाबाट दलहरूसँग पङ्गा लिने जुन स्थिति उत्पन्न भएको छ यसले अकल्पनीय घटनाको पुनरावृत्त हुने सङ्केत देखाउँदैछ । अन्तर्राष्ट्रिय शक्तिको विश्वास प्राप्त गर्न नसकेपछि राजाबाट राष्ट्रिय सहमति र समन्वयको परिस्थिति निर्माणको पहल हुनुपर्ने थियो ।

सबैको साझा बन्ने स्थिति नबनेसम्म राजसंस्था पुनर्बहालीको सम्भावना रहन्न, कदाचित पुनर्स्थापना भएछ भने पनि त्यसविरूद्ध कठोर सङ्घर्ष सुरु हुनसक्ने र, सङ्घर्षले सम्झौतामा पुऱ्याउने नभइ अर्कै अकल्पनीय घटना गराउने सम्भावना रहन्छ । अहिले नै दलहरूले दरबार हत्याकाण्डमा पूर्व श्री ५ लाई दोषी ठहर गराए भने राजाको प्रतिरक्षाका निम्ति कति मानिस सडकमा आउलान् र, त्यसपछिको स्थिति कस्तो हुनसक्ला भन्ने प्रश्नमा विचार गरियो भने एउटा भयानक दृष्य हाम्रो आँखाअगाडि देखापर्छ । त्यसैले दलहरूसँग भिड्न खोज्नुभन्दा समन्वय र समझदारीको निम्ति पहल गर्नु नै सबैका निम्ति उत्तम हुने देखिएको छ । घटना र बिचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार