काठमाडौंः आफैँ नेतृत्वको सरकारका कामबाट स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्ण सन्तुष्ट हुनुहुन्न । यसको स्वीकारोक्ति उहाँ आफैँले सार्वजनिक रूपमा बारम्बार गरिसक्नु भएको छ । सरकारका कामलाई अझै प्रभावकारी बनाउने योजना पनि उहाँसँगै छ । प्रभावकारी काम गर्न नसकेका मन्त्री फेर्ने । जुन कुरा पनि उहाँले लामो समयदेखि सार्वजनिक रूपमा व्यक्त गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले मन्त्री फेरेर भए पनि सरकारका कामलाई थप प्रभावकारी बनाउने घोषणा गरेकै महिना दिन बढी भइसक्यो । तर, अहिलेसम्म मन्त्री फेर्ने कुनै छाँटकाँट छैन । बरु मन्त्रिपरिषद् पुनर्गठनको विषय विस्तारै ओझेलमा पर्न थालेको छ । मन्त्री फेर्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेसले कुनै ‘सिग्नल’ नदिएपछि प्रधानमन्त्रीको मन्त्री फेर्ने चाहना हालसम्म अधुरै रहेको हो । आलोचना भइरहे प्रभावहीन मन्त्रीलाई फिर्ता बोलाउनेबारे कांग्रेसले कुनै चासो देखाएको छैन । अझै कम्तीमा साढे दुई महिना यही मन्त्रिमण्डलले निरन्तरता पाउने निश्चितप्रायः छ । कांग्रेसले आगामी महासमिति बैठकलाई कारण देखाएर अहिले मन्त्रिमण्डल हेरफेरप्रति चासो दिएको छैन । कांग्रेस मात्रै होइन अर्को सत्ता साझेदार दल एकीकृत समाजवादी पनि अहिलेका मन्त्रीहरूले कम्तीमा एक वर्षे कार्यकाल पूरा नगरेसम्म फिर्ता बोलाउने मनस्थितिमा देखिँदैन ।
सत्ता सहयात्रीले साथ नदिँदा मन्त्रिमण्डल हेरफेर गरेर सरकारको कामलाई तीव्रता दिने प्रधानमन्त्री ‘प्रचण्ड’को चाहना अझै केही महिना अधुरै रहने देखिएको छ । उसो त एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ स्वयंले गत साउनमै मन्त्रीलाई कार्यसम्पादन मूल्यांकन फाराम भर्न लगाउनुभएको थियो । यसमा उत्तीर्णलाई पुरष्कृत र अनुत्तीर्णलाई कारबाही गर्ने पनि बताउनुभएको थियो । तर, साउनपछि प्रधानमन्त्रीले आफैँले गरेको वाचालाई कार्यान्वयन गर्न सक्नुभएको छैन । हिमालय टाइम्सबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया