श्रावण ७, २०८२ बुधबार July 23, 2025

एक वर्षमा चार सय ५८ विदेशी निष्कासित

अध्यागमन कानुन मिच्नेमा चिनियाँ र अमेरिकी धेरै, निष्कासितको सूचीमा तेस्रोमा बंगलादेशी, चौथोमा उज्वेकिस्तानी र पाँचौँमा बेलायती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालले २०२३ मा ४५८ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन कानुन मिचेर विनाभिसा बस्ने तथा नेपालमा आएर अपराधमा संलग्न विदेशी निष्कासनमा पर्दै आएका छन् । ५६ देशका नागरिक निष्कासित भएकोमा अध्यागमन विभागको विवरणअनुसार सबैभन्दा धेरै चिनियाँ छन् । एक वर्षमा २०९ जना चिनियाँ निष्कासनमा परेका छन् । दोस्रो स्थानमा अमेरिकी नागरिक छन् । एक वर्षमा ३७ जना अमेरिकी निष्कासनमा परेका छन् ।

निष्कासनमा पर्ने अमेरिकीमा धेरैजसो नेपाली मूलका छन् । अमेरिकी पासपोर्टमा आउने उनीहरू लामो समय नेपाल बस्छन् । निष्कासनमा परेका सबै अमेरिकी ओभर स्टेसम्बन्धी कसुरका रहेको विभागका निर्देशक प्रेमप्रसाद दाहालले बताए । अध्यागमन कानुनबारे जानकारी नहुँदा पनि नेपाली मूलका अमेरिकी कारबाहीमा पर्ने गरेका छन् ।

चिनियाँ पनि धेरैजसो ओभर स्टेमा निष्कासनमा परेको दाहाल बताउँछन् । दुई सय नौमध्ये एक सय ९० जना ओभर स्टेमा परेका हुन् । आठजना वैदेशिक मुद्रा तस्करी, चारजना लागुऔषध, तीनजना संगठित अपराध, दुईजना राजस्व छली तथा ठगी र अपहरणमा संलग्न एक–एकजना छन् ।

निष्कासितको सूचीमा तेस्रोमा बंगलादेश, चौथोमा उज्वेकिस्थान र पाँचौँमा बेलायती छन् । एक वर्षमा बंगलादेश र उज्वेकिस्थानका १९–१९ जना निष्कासनमा परेका भने बंगलादेशका १७ जना छन् । त्यस्तै, श्रीलंकाका ११, पाकिस्तान र स्विडेनका १०–१०, अफगानिस्तानका नौ र जर्मनीका आठ नागरिकलाई कारबाही गरी उनीहरूको देश पठाइएको अध्यागमन विभागका निर्देशक दाहालले बताए ।

निष्कासित विदेशीमध्ये चार सय १२ जनाको ओभर स्टेसम्बन्धी कसुर पाइएको छ । उनीहरू एक वर्षमा पाँच महिनाभन्दा लामो समय नेपाल बसेका थिए । नेपालको अध्यागमन कानुनअनुसार एक अंग्रेजी वर्षभरि बढीमा एक सय ५० दिन पर्यटक भिसामा बस्न पाइन्छ ।

भिसा पारस्पारिकताका कारण अमेरिकी नागरिक भने एक सय ८० दिन बस्न पाउँछन् । यसभन्दा धेरै समय बस्नुलाई अध्यागमनसम्बन्धी कानुनले अपराध मान्दछ । यसभन्दा धेरै बस्नेलाई जरिवाना गरी अपराधको गम्भीरता हेरेर निश्चित अवधि नेपाल आउन नपाउने गरी निष्कासन हुने गरेको अध्यागमन विभागले जनाएको छ ।

निष्कासनमा पर्नेमा ४६ जना विभिन्न अपराधमा पक्राउ परी सजाय भुक्तान गर्नेहरू छन् । लागुऔषध र वैदेशिक मुद्रासम्बन्धी अपराधमा १०–१० जना, संगठित अपराधमा ६, नक्कली पासपोर्टमा पाँच, यौन हिंसासम्बन्धी अपराधमा पाँच र ठगीमा संलग्न पाँचजनालाई सम्बन्धित देश पठाइएको छ । राजस्व छलीमा संलग्न दुई र अपहरण, दुव्र्यवहार, बहुविवाह र शंकास्पद गतिविधिमा संलग्न एक–एकजना छन् ।

अनुगमन नहुँदा अवैध धन्दामा विदेशी 
नेपालमा अवैध रूपमा बस्ने विदेशीका कारण राष्ट्रिय सुरक्षामै चुनौती बढेको भन्दै पाँच वर्षअघि सरकारले अनुगमन गर्न निर्देशिका बनाए पनि अनुगमन भने प्रभावकारी हुन सकेको छैन ।  ०७५ मा ‘विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५’ जारी भएको थियो । निर्देशिकाले अध्यागमन अधिकृतले आफैँ पुर्जी दिएर खानतलासी गर्ने र पक्राउ गर्ने अधिकार दिएको थियो । जसअनुसार खानतलासीलगायत काम हुन सकेको छैन । अध्यागमन विभागका अधिकारी भने यसमा जनशक्ति अभावलाई मुख्य कारण मान्छन् ।

चिनियाँहरू आर्थिकदेखि वन्यजन्तुसम्बन्धी अपराधमा सक्रिय छन् । एक चिनियाँ समूहले एक वर्षसम्म विमानस्थलबाट सुन तस्करी गरेको गत साउनमा ६१ किलो सुन बरामद भएबाट खुलेको थियो । त्यसमा आबद्ध चिनियाँहरू नेपालमा वर्षाैँदेखि सक्रिय थिए । कतिपय पर्यटक भिसामा त केही बिजनेस भिसामा बसेर सुन तस्करी, क्रिप्टोलगायत अपराध गर्दै आएको अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारी बताउँछन् ।

विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गर्नेमा पनि चिनियाँ नै देखिएका छन् । त्यस्तै, दोलखाको लामाबगर नाकाबाट सुन तस्करी गर्नेमा पनि चिनियाँ समूहको सक्रियता देखिएको छ । कतिपय विदेशी बिजनेस भिसाको आवरणमा धर्म प्रचार र जासुसीमा सक्रिय रहेका विगतका अनुसन्धानले देखाएका छन् ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ नेपालमा बसेर अवैध गतिविधिमा संलग्नमाथि विभागको इन्टेलिजेन्स टिमको अनुसन्धानले निगरानी गरिरहेको बताउँछन् । ओभर स्टेमा बस्ने विदेशीको विवरण तत्काल थाहा हुने गरी ‘सिस्टम’ बनाउने काम पनि भइरहेको उनको भनाइ छ ।

हालको अध्यागमन प्रणाली यति कमजोर छ कि नेपाल आएका कुन विदेशी ओभर स्टे भए भनेर राज्यले थाहा पाउने अवस्था छैन । अर्काेतर्फ ओभर स्टे बस्दा ५० हजार रुपैयाँसम्म मात्र जरिवाना हुने कमजोर कारबाही प्रणालीले पनि नेपालमा विदेशीको अवैध गतिविधिलाई प्रोत्साहन भइरहेको अध्यागनका अधिकारी बताउँछन् ।

सात वर्षमा ३४ सय ८६ विदेशी निष्कासनमा

सात वर्षमा नेपालबाट ३४ सय ८६ विदेशी निष्कासनमा परेका छन् । निष्कासित हुनेमा ८५ प्रतिशत ओभर स्टेसम्बन्धी कसुरका छन् । २०२२ मा ५५८ जना निष्कासनमा परेका थिए । २०२१ मा २१८ जना, २०२० मा ३३२ जना विदेशीलाई कारबाही गरी पठाइएको अध्यागमनको तथ्यांक छ ।  २०२० मा नेपालमा गोप्य रूपमा इन्टरनेटमार्फत जुवालगायत अपराधमा संलग्न १२२ जना चिनियाँलाई एकैपटक पक्राउ गरी निष्कासन गरिएको थियो । चीनले प्लेन नै चार्टर गरेर उनीहरूलाई लगेको थियो । २०१९ मा ६६८, २०१८ मा ६९२ तथा २०१७ मा ५६० जना निष्कासनमा परेका थिए । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार