जेठ ५, २०८१ शनिबार May 18, 2024

हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ

श्रीमान्ले बञ्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोदार (धनुषा)। धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ । पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो ।

गत वर्ष कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो । श्रीमान्ले बञ्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए । उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायव उपरीक्षक अवालेले बताउनुभयो ।

“घटनापछि दुवै दाजु–भाइ भारतमा काम गर्न गएको खुलेको छ”, उहाँले भन्नुभयो । दुवैजना गत वर्ष कात्तिक ३० गते घर फर्किएका थिए । दाजुभाइले खाल्डोबाट शव निकाली बोरामा हालेर सहिदनगर–७ नेमुवाटोल नजिकै खोल्सामा फालेको खुलेको छ ।

हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताउनुभयो । अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उहाँले बताउनुभयो । प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ । शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया