असार १४, २०८१ शुक्रबार June 28, 2024

अस्पताल र प्रतिष्ठानबिच विवाद बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा, जेठ २७ गते  । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत गाभ्ने बागमती प्रदेश सरकारको निर्णयविरुद्ध मकवानपुरका राजनीतिक दलपछि अस्पतालका चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी उभिएका छन् ।

हेटौँडा अस्पताललाई छुट्टै राख्नुपर्ने मागसहित मकवानपुरमा व्रिmयाशील राजनीतिक दल एकमत भएर निर्णय गरेको एक साता बित्दा नबित्दै अस्पताल निर्देशकदेखि चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णयविरुद्ध उत्रिएका हुन् ।

प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन बनाएर हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत सञ्चालन गर्ने निर्णयका विरुद्धमा जिल्लाका राजनीतिक दल रहेका छन् ।

हेटौँडा अस्पतालका निमित्त अस्पताल निर्देशकदेखि चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारीसम्मले अस्पतालमाथि गैरकानुनी ढङ्गले प्रतिष्ठानबाट आर्थिक र प्रशासनिक अधिकारमाथि हस्तक्षेप तथा अतिव्रmमण गरेको भन्दै विरोध गरेका छन् ।

हेटौँडा अस्पतालका निमित्त अस्पताल निर्देशक डा. श्रीधर अर्यालको अध्यक्षतामा यहाँ बसेको चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारीको संयुक्त बैठकले प्रतिष्ठानले गैरकानुनी ढङ्गले प्रतिष्ठानबाट आर्थिक र प्रशासनिक अधिकारमाथि हस्तक्षेप तथा अतिव्रmमण गरेको भन्दै विरोध गर्ने निर्णय गरेको हो ।

निमित्त अस्पताल निर्देशक अर्यालले हेटौँडा अस्पताललाई छुट्टै राख्न माग गर्ने गरी निर्णय भएको जानकारी दिनुभयो । उहाँले लामो समयदेखि अस्पतालमा काम गर्दै आएका कर्मचारीको सेवासुविधा र पेसागत सुरक्षासँगै लामो इतिहास भएको अस्पतालको गौरव कायम राख्न पनि प्रतिष्ठान मातहत गाभ्न नहुने धारणा चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारीबाट आएकाले सोही अनुसार माग गर्ने निर्णय भएको बताउनुभयो ।

बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भइरहेको आर्थिक एवं प्रशासनिक अव्रिmमण सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायत निकायलाई जानकारी गराई प्रतिष्ठानले छाया प्रशासन सञ्चालन गरेको भन्दै प्रतिष्ठानको आर्थिक तथा प्रशासनिक शाखालाई अस्पतालबाट हटाई आर्थिक, प्रशासनिक र प्राविधिक कार्यमा हुने बाधा फुकाई पूर्ववत् रूपमा प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत निरन्तरता दिन ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

कानुनी उपचारमा जाने तयारी

प्रतिष्ठानले अस्पतालको आर्थिक र प्रशासनिक काममा हस्तक्षेप गरेको भन्दै अस्पतालका स्वास्थ्यकर्मीलगायतका कर्मचारी कानुनी उपचारको खोजीमा जाने भएका छन् ।

बैठकले आर्थिक अधिकार स्पष्ट गर्न स्वास्थ्य मन्त्रालयलाई अति जरुरी पत्र पठाए पनि मन्त्रालयबाट आवश्यक निर्देशन र जवाफ नआएको हुनाले मुख्य न्यायाधिवक्ताको कार्यालयलगायतका निकायमा कानुनी उपचारका लागि राय माग गर्ने र आर्थिक प्रशासनिक कार्य सहज रूपमा सञ्चालन गर्न गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

यस्तै बैठकले सरकारी निकाय तथा राष्ट्रसेवक कर्मचारी सरकार मातहत रहने व्यवस्था रहेकोमा कानुनको अपव्याख्या गरी सरकारी निकाय तथा कर्मचारीलाई प्रतिष्ठानमार्फत राखी ६४ वर्षको पुरानो इतिहास रहेको सरकारी अस्तित्वको हेटौँडा अस्पताललाई नामेट गर्न खोजेको जिकिर गरेको छ ।

साथै प्रदेश सरकारबाट अख्तियारी प्राप्त अस्पताल निर्देशक र लेखा अधिकृत हुँदाहुँदै करारका डाइरेक्टर र करारकै लेखा अधिकृतबाट खाता सञ्चालन गर्ने, करारका व्यक्तिबाट प्रशासन सञ्चालन गर्ने र प्रतिष्ठानको लेटरप्याडमा अनधिकृत रूपमा हेटौँडा अस्पतालको चलानी किताबको दुरुपयोग गरी चलानी गर्ने कार्य गरेको अस्पतालले जनाएको छ ।

बैठकले कानुनको दुरुपयोग गरी धम्क्याउने, डराउने, सरकारी पत्रको बरखिलाप हुने मर्मका साथ गतिविधि गर्ने कार्य गरेको भन्दै यस्ता कार्य सह्य नहुने चेतावनीसहितको निर्णय गरेको छ ।

बैठकमा चिकित्सक कमल दवाडी, राजु सेढाईं, हरिबहादुर खड्का, सुयोग्य काफ्ले, पदम नेपाली, सागर श्रेष्ठलगायतका स्वास्थ्यकर्मी र कर्मचारीको उपस्थिति थियो ।

मकवानपुरका राजनीतिक दलले यसअघि हेटौँडा अस्पताललाई छुुट्टै सञ्चालन गर्नुपर्ने, प्रतिष्ठानका लागि आवश्यक अस्पताल छुट्टै स्थापना गर्नुपर्ने र प्रतिष्ठानलाई उद्देश्य अनुसार प्रभावकारी रूपमा सञ्चालन गर्न माग गर्ने निर्णय गरेका थिए । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया