असार २९, २०८२ आइतबार July 13, 2025

बैङ्कभन्दा नातेदारकै भर

ऋण लिएका कुल घरपरिवारमध्ये ९७.३ प्रतिशत घरपरिवारले ऋण तिर्न बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ ३२ गते ।नेपाली जनता ऋणका लागि सबैभन्दा धेरै नातेदारसँगै निर्भर रहने पाइएको छ । ऋण प्रवाहका लागि देशका प्रायः सबै क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, लघुवित्त र सहकारीको समेत उपलब्धता रहेको अवस्थामा पनि धेरै घरपरिवारले नातेदारसँगै ऋण लिने गरेको पाइएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ को प्रतिवेदनले ऋण लिएका घरपरिवारमध्ये सबैभन्दा धेरै अर्थात् ४२.५ प्रतिशतले नातेदारबाट ऋण लिने गरेको तथ्य सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार घरपरिवारबाट ऋण लिने प्रवृत्ति विगत १२ वर्षको तुलनामा भने घटेको छ । यसअघि सन् २०१०/११ को जीवनस्तर सर्वेक्षणमा ५१.१ प्रतिशतले नातेदारबाट ऋण लिने उल्लेख गरेको थियो ।

नातेदारपछि सबैभन्दा धेरै बैङ्कहरूबाट ऋण लिने गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ । जस अनुसार २२.४ प्रतिशत घरपरिवारले बैङ्कबाट ऋण लिने पाइएको छ । बैङकबाट ऋण लिने प्रवृत्ति भने बढेको देखिन्छ । १२ वर्षअघि २० प्रतिशत घरपरिवारले मात्र बैङ्कबाट ऋण लिने गरेको पाइएको थियो ।

बैङ्कपछि ऋणदाता व्यक्तिबाट ऋण लिने गरेको पाइएको छ । उच्च ब्याज लिने त्यस्ता ऋणदाताबाट ऋण लिने क्रम भने घटेको देखिएको छ । प्रतिवेदनका अनुसार कुल घरपरिवारमध्ये ११.४ प्रतिशतले यस किसिमका ऋणदाताबाट ऋण प्राप्त गर्छन् जब कि अघिल्लो सर्वेक्षणमा १५.१ प्रतिशत घरपरिवारले यस किसिमबाट ऋण लिने गरेका थिए ।

६४ प्रतिशत घरपरिवार ऋणी

सर्वेक्षणले देशभरका करिब ६४ प्रतिशत घरपरिवारले कुनै न कुनै किसिमले ऋण लिएको पाइएको छ । त्यसरी ऋण लिएका घरपरिवारमध्ये अधिकांश घरपरिवारले ऋण तिर्न बाँकी देखिन्छ । प्रतिवेदन अनुसार ऋण लिएका कुल घरपरिवारमध्ये ९७.३ प्रतिशत घरपरिवारले ऋण तिर्न बाँकी छ ।

ऋण तिर्न बाँकी घरपरिवारको सङ्ख्या अत्यन्त बढी नै देखिन्छ । अघिल्लो पटकको सर्वेक्षणमा ६५ प्रतिशत घरपरिवारले ऋण लिएकोमा ६२.६ प्रतिशतले मात्र ऋण तिर्न बाँकी रहेको अवस्था थियो तर पछिल्लो प्रतिवेदनले ऋण लिएका प्रायः सबै घरपरिवारको दायित्व बाँकी नै रहेको पाइन्छ ।

व्यक्तिगत कामका लागि धेरै ऋण

ऋण लिएका घरपरिवारमध्ये धेरैले व्यक्तिगत कामका लागि ऋण लिने गरेको भेटिएको छ । प्रतिवेदन अनुसार ऋण लिएका घरपरिवारमध्ये ५५.८ प्रतिशतले अन्य किसिमका व्यक्तिगत प्रयोजनका लागि ऋण लिएको उल्लेख गरेका छन् । व्यक्तिगत प्रयोजनका लागि ऋण लिने घरपरिवारको हिस्सा विगतको तुलनामा बढेको छ । अघिल्लो सर्वेक्षणको समयमा ४३.१ प्रतिशत घरपरिवारले मात्र व्यक्तिगत प्रयोजनका लागि ऋण लिने गरेको पाइएको थियो ।

व्यक्तिगत प्रयोजनपछि घरायसी उपभोगका लागि ऋणको प्रयोग गर्ने पाइएको छ । कुल घरपरिवारमध्ये २३.५ प्रतिशतले यस्तो उद्देश्यका लागि ऋण लिने गरेका हुन् । घरायसी उपभोगका लागि ऋण लिने घरपरिवारको हिस्सा भने घटेको छ । यसबाहेक व्यवसाय र कृषिजन्य कामका लागि २०.७ प्रतिशत घरपरिवारले ऋण लिएको पाइएको छ, जुन विगतको तुलनामा करिब छ प्रतिशतले घटेको छ ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार