असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै

जर्मनीबाट प्रविधि हस्तान्तरणको उदाहरणका रुपमा  सफल र आधुनिक नवीकरणीय ऊर्जा सम्बन्धी प्रविधि भित्र्याउने ठूलो सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । राष्ट्रपति पौडेल  असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुनेछ ।

नेपाल र जर्मनीबिच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।

मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले  काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान पु¥याएको छ । जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केल सन १९६७ र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गर्नुभएको थियो ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गर्नुभएको थियो । त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रुअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गर्नुभएको थियो ।

यसैगरी तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले  सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनको भ्रमण गर्नुभएको थियो । यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गर्नुभएको थियो ।

सोह्र वटा राज्यहरू मिलेर बनेको जर्मनी युरोपको केन्द्र भागमा रहेको महत्वपूर्ण मुलुक हो । जर्मनी विश्वकै चौथो र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । नेपालका लागि जर्मनी चौथो विकास–साझेदार मुलुक हो । जर्मनी व्यापार साझेदारी मात्र नभई नेपाली वस्तु तथा सेवाको सम्भावित ठूलो बजार र निर्यात व्यापार तथा लगानी प्रबद्र्धन र पर्यटक भित्र्याउन सक्ने ठूलो सम्भावना बोकेको राष्ट्र हो । नेपालबाट जर्मनीतर्फ वार्षिक करिब डेढ अर्ब बराबरको बस्तु निर्यात हुँदै आएको छ भने जर्मनीबाट त्यसको तीन गुणासम्म आयात हुने गरेको तथ्याङ्कले देखाएको छ ।

जर्मनबाट मूलतः अप्पटिकल उपकरण, फोटोग्राफी, सर्किजल उपकरण, औषधिजन्य उत्पादन र सवारी साधान आयात हुन्छ भने यहाँबाट गलैँचा, मह, तयारी पोशाक, पस्मिना, हस्तकला, चाँदीका गहना, काठ र बाँसजन्य समान, जडीबुटी, अलैँची, चिया निर्यातको प्रशस्त सम्भावना छ । विगतमा काठमाडौँबाट जर्मनी दैनिक सिधा हवाई उडान सम्पर्क सञ्जाल रहेकै कारण नेपाली गलैँचा निकासीको राम्रो गन्तव्य थियो ।

जर्मनीबाट प्रविधि हस्तान्तरणको उदाहरणका रुपमा  सफल र आधुनिक नवीकरणीय ऊर्जा सम्बन्धी प्रविधि भित्र्याउने ठूलो सम्भावना छ । दुवै मुलुकमा प्रचुर पर्यटकीय आकर्षण छ । एक तथ्याङ्क अनुसार सन् २०१९ मा ३६ हजार ६४१ जर्मन नेपाल घुम्न आएका थिए । नेपालको हिमाल आरोहणमा जर्मन नागरिकको विशेष रुचि देखिन्छ । उच्च प्रतिव्यक्ति आय र सरकारी नीति समेत भएका कारण जर्मन नागरिकका लागि  नेपाल पर्यटकका लागि हब हुन सक्ने प्रशस्त सम्भावना बोकेको छ ।

नेपालाई जर्मनीले कृषि, सहरी विकास, फोहर–मैला व्यवस्थापन, साना तथा घरेलु उद्यम विकास, गरिबी निवारण, भौतिक पूर्वाधार, विद्युत् प्रसारण लाइन, जलविद्युत आयोजना,  नवीकरणीय ऊर्जा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सहायता  उपलब्ध गराउँदै आएको छ ।

विस २०७२ को भूकम्पपछि जर्मनीले औपचारिक माध्यम मार्फत ४.५ मिलियन र पुनर्निर्माणका लागि ३० मिलियन युरो उपलब्ध गराएको थियो । गैरसरकारी तथा निजी क्षेत्रमार्फत पनि जर्मनीबाट त्यस बेला ठूलो सहयोग प्राप्त भयो । सरकारी  तवरमा जर्मन सरकारले ७० मेघा वाटको मध्य मर्स्याङ्दी जलविद्युत आयोजनामा ऐएफडब्लु बैङ्कबाट २०० मिलियन युरो लगानी गरेको छ ।

जर्मनीबाट नेपालमा कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, पूर्वाधार विकास, खाद्यान्न प्रशोधन, सूचना प्रविधि, शिक्षा र यातायातका क्षेत्रमा लगानी भित्र्याउन सकिने सम्भावना रहेको सरकारी अधिकारीको भनाई छ । जर्मनी दक्ष र व्यावसायिक जनशक्तिका लागि वैदेशिक रोजगारीको अवसर प्राप्त गर्ने आकर्षण गन्तव्यका रुपमा रहने आँकलन गरिएको छ । जर्मनीमा करिब १५ हजार बढी नेपाली अध्ययन र विभिन्न पेशा व्यवसायमा संलग्न भएको छ । उनीहरूले जनस्तरको सम्बन्धलाई समेत प्रगाढ तुल्याउन योगदान दिइरहेका छन् ।

राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल हुनुहुन्छ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनुभएको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनुहुनेछ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार