असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रपति पौडेलद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीमा जलवायु परिवर्तन र विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गर्नुभएको छ । उहाँले जर्मनीको पोट्सडामस्थित ती  संस्थाहरूको अवलोकन गर्नुभएको हो ।

अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरबारे अनुसन्धानका साथै असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उहाँहरूलाई आग्रह गर्नुभएको थियो । “जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो । तपाईँहरूले अनुसन्धानमा ठूलो प्रगति गर्नुभएको छ ।

अब  अनुसन्धान मात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्‍यो”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहाकार किरण पोखरेलले भन्नुभयो, “नेपालमा जलवायु परिवर्तनका गम्भीर असर देखिसके  ।

हिमालयहरू काला पहाडमा परिणत भइसकेका छन् । अब विकसित मुलुकहरूमा पनि असर पर्नेछ  । त्यसैले तपाईँहरूले मारमा परेका देशले के के गर्नुपर्‍यो र विकसित देशले के के गर्नुपर्‍यो भनेर स्पष्टसँग समाधानका उपाय दिन आवश्यक छ, जसले पृथ्वीलाई जोगाउन सकोस् ।”

जर्मन रिसर्च सेन्टर फर जिओसाइन्स (जिएफजेड) साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउंटर, पोस्टाडाम इन्स्टिट्युट फÞर क्लाइमेट इम्प्याक्ट रिसर्च (पिआइके) अनुसन्धान समूहका प्रमुख युर्गन पि क्रप, नेपाली रिसर्च इन्स्टिट्युट फर सस्टेनेवेलेटीका अनुसन्धान समूह लिडर डा महेश्वर रूपाखेतीलगायतका वैज्ञानिकहरूले विभिन्न विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो  ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुग्नुभएको छ । उहाँ प्रथम महिला सविता पौडेलका साथ सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्र फ्रैङ्क वाल्टर स्टाइनमायरको निमन्त्रणमा औपचारिक भ्रमणका लागि जर्मनी जानुभएको हो ।

उहाँले जर्मनीको पोट्सडाममा अवस्थित जिएफजेडको अवलोकन गर्नुभयो । यो ठोस पृथ्वी विज्ञानका लागि जर्मनीको राष्ट्रिय अनुसन्धान केन्द्र हो । यसले भू–विज्ञानका उप–प्रणालीहरू, यसको अन्तर्क्रिया गर्ने उपचक्रहरू र यसका कारण तथा प्रभाव शृङ्खलाहरूका विस्तृत सञ्जालका साथै पृथ्वीको भूगोलजस्ता जटिल प्रणालीमा ध्यान केन्द्रित गर्ने यहाँका वैज्ञानिकहरूले जानकारी दिएका छन् ।

सन् २०१५ देखि जिएफजेडका वैज्ञानिकहरू नेपालको हिमाली क्षेत्रमा संवेदनशील प्राकृतिक विनाशकारी बाढीको भूकम्पीय अनुगमनमा सक्रिय छन् । यस्तै, जिएफजेडसँगको समन्वयमा नेपालको खानी तथा भूगर्भ विभाग र जिइओएस जर्मनीबीच पहिरोसम्बन्धी पूर्वसूचना प्रणालीबारे भएको सम्झौतामा २६ सेप्टेम्बर २०२३ मा हस्ताक्षर भएको थियो ।

 

यस्तै, राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको जर्मनीको पोट्सडाममा अवस्थित अर्को रिसर्च इन्स्टिच्युट फर सस्टेनिविलीटी सन् २००९ मा स्थापना भएको हो । यसले दिगो विकास हासिल गर्न सामाजिक परिवर्तनको प्रक्रिया बुझ्ने, विकास गर्ने र मार्गदर्शन गर्ने लक्ष्यका साथ अनुसन्धान गर्ने बताइएको छ ।

मे २०१२ देखि प्रो मार्क लरेन्स (आरआइएफएसका वैज्ञानिक निर्देशक) को निर्देशनमा डा महेश्वर रुपाखेतीले यो संस्थामा एक अनुसन्धान समूहको नेतृत्व गर्दै काम गरिरहेको र यो समूहले नेपाललाई केन्द्रित गर्दै दक्षिण एसियामा वायु प्रदूषण र जलवायु परिवर्तनको अध्ययन गरिरहेको बताइएको छ ।

नेपालभित्र र बाहिरका प्रमुख सरोकारवालाहरूसँग मिलेर यो समूहले वायु प्रदूषणको अनुसन्धान, वायुको गुणस्तर, जनस्वास्थ्य, कृषि, जलवायु र हिमाली पारिस्थितिक प्रणालीमा पर्ने असर र दक्षिण एसियामा विशेष गरी नेपालमा अनुसन्धान र संवादको संयोजनमार्फत सम्भावित न्यूनीकरणका उपायहरूमा केन्द्रित रहेको राष्ट्रपति पौडेललाई रुपाखेतीले जानकारी गराउनुभएको थियो ।

राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको अर्को सन् १९९२ मा स्थापना भएको इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले विश्वव्यापी स्थिरताको लागि अन्तर क्षेत्रगत जलवायु प्रभाव अनुसन्धानमा वैज्ञानिक सीमालाई अगाडि बढाउने र सुरक्षित तथा न्यायपूर्ण जलवायु भविष्यको लागि ज्ञान र समाधानमा योगदान गर्ने दुईवटा लक्ष्य लिएको पनि अवलोकन भ्रमणका क्रममा जानकारी दिइयो ।

पिआइकेले नेपाललाई साझेदार मुलुक मान्दै परियोजना सञ्चालन गरेको थियो । यसले अहिले फर एचआइएम एसडिजी सञ्चालन गरिरहेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार