असार २९, २०८२ आइतबार July 13, 2025

सत्तारोहणबारे कांग्रेसमा दुईधार

महामन्त्री गगन थापासहितको समूह सरकारको सपना नदेखी पार्टी संगठन मजबुद बनाउनुपर्ने पक्षमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र सत्ता स्वार्थ छाडेर पार्टी संगठन बलियो बनाउने र सत्तामा जान अनेकन बाटोको खोजीमा रहेका नेताहरू दुई धारमा उभिएका छन्।

पार्टी संस्थापन पक्षका केही सांसदहरू चाँडै सत्तामा जाने मौका पर्खेर बसे पनि महामन्त्री गगन थापासहितको समूहले सरकारको सपना नदेखी पार्टी संगठन मजबुद बनाउनुपर्ने पक्षमा रहेका हुन् ।

वर्तमान पाँच दलीय गठबन्धनको सरकारभित्र देखिएको असमझदारीलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्तारोहणको अवसरका रूपमा लिएको छ। तर, सोही दलका महामन्त्री गगनकुमार थापाले सरकारतिर ध्यान नदिई २०८४ को निर्वाचन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ।

सरकारको गतिविधिप्रति खरो आलोचना गर्दै आएका महामन्त्री थापाले सरकार चलाउने जिम्मा अहिले सरकारमा रहेका दलहरूलाई नै छोडिदिन आग्रह गर्नुभयो ।

मंगलबार पार्टीको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो– ‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिऊँ । एमाले, माओवादी, घण्टी, जोजो–जसजसले चलाएका छन्, चलाउन दिऔँ, चलाऊन्,’ उहाँले भन्नुभयो– ‘सरकारतिर हामी हेर्दै नहेरौँ । र यति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बढाऔँ ।’ २०८४ को निर्वाचन जित्ने गरी काम गर्न पार्टीका कार्यकर्ताहरूलाई उहाँले निर्देशनसमेत दिनुभयो।

आगामी चुनावमा ४० प्रतिशत मत ल्याउन सक्ने गरी अगाडि बढिए अहिलेकै निर्वाचन प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै नभएर कांग्रेससँग संविधानमा लेखिएका कुराहरू सकारात्मक ढंगले कार्यान्वयन गर्न सक्ने तागत हुने थापाको भनाइ छ ।
तर, सधैं सत्ताको सपनामा रमाएर काम नगर्ने एकाथरी सांसदहरूमा सरकारको विकल्प सरकार मात्रै देख्ने प्रवृत्ति देखापरेको कांग्रेसकै जिम्मेवार नेताहरूले टिप्पणी गरेका छन्।

‘एकाथरी सांसदहरू कति बेला सरकारमा मन्त्री खान पाइन्छ भनेर कुरी रहेका पनि छन,’ पार्टीका एक पदाधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘यद्यपि यो अवस्थामा कांग्रेस बलियो प्रतिपक्ष नै भएर बस्नुपर्छ। जनताका मुद्दालाई सदनदेखि सडकसम्म उठाउने, स्थानीय र प्रदेश सरकारमा जिम्मेवारी पाएका साथीहरूले जनताले महसुस गर्ने गरी काम गर्ने र अर्कोपटक चुनावमा जनताको मन र मत जितेर राम्रो अंक ल्याउने गरी संगठन मजबुद बनाउन लाग्नुपर्दछ।’

कांग्रेस संस्थापन पक्षका सांसदहरू वर्तमान सरकार चाँडै ढल्ने र कांग्रेस सत्तामा जाने धेरै दिन पर्खनु नपर्ने बताउँदै आएका छन् । सरकारमा जाने र बाहिर रहने विषयले कांग्रेसलाई फरक नपर्ने भन्दै पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका विषयलाई एजेन्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘सत्तामा गएर होइन एजेन्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउन एजेन्डालाई बलियो ढंगले उठान गर्नुपर्छ’ –नेता पौडेलले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले कांग्रेसलाई राम्रो, गतिशील र नेतृत्व प्रदान गर्ने शक्तिका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको कांग्रेसलाई आम नागरिकले बलियो भएको हेर्न चाहेका र यसलाई पूरा गर्न सबै नेता कार्यकर्ता मिलेर सम्भव हुने बताउनुभयो ।

पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिले सरकार फेरबदल गर्ने गराउने रणनीतिमा कांग्रेस नलागेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘पार्टीभित्र केही सांसदहरू सरकारमा जान पाए हुन्थ्यो भनेर बसे पनि अहिले नै सरकार फेरबदलको सम्भावना छैन । कांग्रेसले आफ्नो संगठनलाई बलियो बनाएर मतदाताको मन जित्ने गरी देश र जनताका पक्षमा काम गर्नु नै पार्टी र देश हितमा हुन जान्छ ।’ नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार