असार २८, २०८२ शनिबार July 12, 2025

विकृतिले विवादित विभूषण यो वर्ष पनि रोकिने सम्भावना

विभूषणका लागि ६ वर्षअघि बनाइएको मापदण्ड कार्यान्वयन हुन सकेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विकृतिका कारण विवादित बनेको विभूषण यो वर्ष पनि रोकिने भएको छ । तयारीको समय कम भएको भन्दै गृह मन्त्रालयले यसका लागि कुनै गृहकार्य गरेको छैन । गत वर्ष नयाँ मापदण्ड बनाएर मात्र विभूषण दिने भन्दै अन्तिम समयमा सिफारिस रोकिएको थियो । मापदण्ड संशोधनमा केही प्रगति भएको छैन ।

संविधान दिवसको अवसरमा ३ असोजमा विभूषणको घोषणा हुने गरेको छ । अब करिब सात हप्ता मात्र बाँकी रहेको र सरकारले पनि यसमा कुनै निर्णय नगरेकाले यो वर्ष विभूषण दिने सम्भावना कम रहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । सामान्यतया जेठमा नै यसका लागि छनोट समिति गठन गरी सिफारिस माग हुने गरेको थियो ।

मन्त्रालयका अधिकारीले गृहमन्त्री रमेश लेखकलाई ब्रिफिङ गर्दै समिति गठन, मापदण्ड र समयको चापलगायतका समस्या बताएका थिए । तर, विभूषणबारे मन्त्री लेखकले कुनै निर्देशन दिएका छैनन् । जसअनुसार कुनै प्रक्रिया अघि नबढेकाले यो वर्ष पनि घोषणा हुने सम्भावना कम रहेको गृह मन्त्रालयका अधिकारी बताउँछन् ।

‘विभूषणसम्बन्धी अहिलेसम्म कुनै काम भएको छैन,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘यो वर्ष वितरण गर्ने/नगर्ने भन्ने विषय सरकारको निर्णयमा भर पर्छ । तर, तयारीमा गृहकार्यका लागि समय निकै कम भइसकेको छ ।’ विभूषण पाउनेको संख्या घटाउने भनेर गत वर्ष रोकिएको थियो । तर, विभूषणका लागि ६ वर्षअघि बनाइएको मापदण्ड कार्यान्वयन हुन सकेको छैन ।

मन्त्रालयले बनाएको ‘विभूषण सिफारिस कार्यविधि तथा एवं प्रदानसम्बन्धी मापदण्ड २०७५’ ले भने एक वर्षमा प्रदान गरिने प्रमुख विभूषण संख्या नै स्पष्ट पारिएको छ । जसमा एक वर्षमा बढीमा दुई सय ८३ जनालाई दिन सकिने उल्लेख छ । तर, त्यो मापदण्ड उल्लंघन गरी सरकारले जथाभावी ठूलो संख्यामा वितरण गरेपछि विवाद हुँदै आएको छ । आजको नयाँपत्रिका दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया