असार २८, २०८२ शनिबार July 12, 2025

पहिरोबारे पूर्वसूचना दिने एआईमा आधारित प्रणाली तयार हुँदै

तथ्यांक विश्लेषणको काम सकिएपछि पहिरोको जोखिमयुक्त ठाउँहरू राखेर विभागले नक्सा बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आर्टिफिसियल इन्टेलिजेन्स(एआई)मा आधारित भएर सरकारले पहिरोको पूर्वसूचना प्रणाली बनाउने काम सुरु गरेको छ । खानी तथा भूगर्भ विभागमार्फत पहिरोको जोखिमबारे एक वर्षदेखि अध्ययन भइरहेको छ । पहिरोको पूर्वसूचना प्रणाली नेपालमा पहिलोपटक बन्न लागेको हो ।

देशको सबै क्षेत्रको भूगोलको परीक्षण गरी कुन ठाउँमा कति पानी पर्दा पहिरो आउन सक्छ भनेर विश्लेषण गरी मोबाइल एपमार्फत पूर्वसूचना दिने प्रणाली बनाउन लागिएको हो । यो प्रणाली तयार हुन अझै दुई वर्ष लाग्ने खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झाले बताइन् ।

उनका अनुसार जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यस्तो प्रणाली बन्न लागेको हो । यस कामका लागि विभागले परियोजना नै बनाएर विभागमा भूगर्भविद्हरूको टोली खटाएको छ । ‘हामीले गण्डकी प्रदेशको भूगोलको विस्तृत अध्ययन गरेर अहिले डाटा प्रशोधन गरिरहेका छौँ,’ उपमहानिर्देशक झा भन्छिन्, ‘त्यहाँकै भूगोलसँग मिल्ने देशका अन्य क्षेत्रको पनि त्यसैलाई आधार बनाएर एआईको सहयोगमा पहिरोको जोखिम विश्लेषण गर्दछौँ ।’

लाइडर (लाइट डिटेक्सन एन्ड रेन्जिङ) विधिमार्फत विभागले गण्डकी प्रदेशको भूगोलको विस्तृत सर्वेक्षण गरेको हो । विभागले गण्डकी प्रदेशलाई एक सय १७ वटा रेखामा विभाजन गरी त्यहाँको भूबनोटको विश्लेषण हो । त्यसरी विभाजन गरिएका हरेक रेखामा पर्ने भूगोलको हेलिकोप्टरमार्फत भूसतहको तस्बिर खिचिएको थियो ।

१० दिन लगाएर यसरी अध्ययन टोलीले हेलिकोप्टरमार्फत भूगोलको अध्ययन गरी तस्बिर लिएको छ । तीनै उच्च गुणस्तरयुक्त तस्बिरको आधारमा त्यहाँको भूबनोटको विश्लेषण भइरहेको झा बताउँछिन् ।

परियोजनाको नाम ‘इप्लिमेन्टेसन अफ कन्ट्रिवाइज अर्ली वार्निङ सिस्टम फर जिओटेक्निकल इमरजेन्सी एन्ड रिस्क रिडक्सन इन नेपाल’ राखिएको छ । यसका लागि ‘गुगल अर्थ’को समेत सहयोग लिइएको छ । पहिरो आउन सक्छ भनेर अनुमानका आधारमा चेतावनी दिनेबाहेक नेपालमा हालसम्म पहिराको पूर्वसूचना प्रणाली छैन ।

तथ्यांक विश्लेषणको काम सकिएपछि पहिरोको जोखिमयुक्त ठाउँहरू राखेर विभागले नक्सा बनाउनेछ । साथै, मोबाइल एपमार्फत ठूलो पानी पर्ने वेलामा सचेतना सन्देश पठाउने उद्देश्य छ । यो एआईमा आधारित एप हुने उपमहानिर्देशक झा बताउँछिन् । ‘हामीले राखेका तथ्यांक र जल तथा मौसम विज्ञान विभागको वर्षासम्बन्धी पूर्वानुमान तथ्यांक विश्लेषण गरी कुन ठाउँमा पहिरो जाने जोखिम छ भन्ने एपले अलर्ट दिन्छ,’ उनी भन्छिन्, ‘सम्भवतः नेपालमा सरकारी निकायले औपचारिक रूपमा एआईको प्रयोग गरेको यो पहिलोपटक हुन सक्छ । स्विट्जरल्यान्डमा यो प्रविधि सफल देखिएको छ ।’

पहिरोको जोखिम विश्लेषणका लागि विभिन्न मानकहरू बनाइएको छ । भूबनोट, चट्टानको अवस्था, जमिनमुनिको पानीको अवस्था, नदी कटानको अवस्थालगायतको विश्लेषण गरी जोखिमको मूल्यांकन गर्ने योजना छ । यी तथ्यहरू राखेर निश्चित सूत्र बनाउने र त्यसैका आधारमा एआईले विश्लेषण गरी चेतावनी सन्देश जारी गर्नेछ । नयाँपत्रिका दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया