श्रावण १४, २०८२ बुधबार July 30, 2025

पहाडी सडकमा सवारी चलाउँदै किशोरी

जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले त्यही गाडी रोज्ने बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इलाम । छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुभएको छ ।

त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उहाँ इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुनुहुन्छ ।

पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उहाँले गाडी चलाउन थाल्नुभएको हो । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उहाँ बिहान इलाम सन्दुकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानुहुन्छ । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्नुहुन्छ ।

उहाँको बुवा पहिलेदेखि सवारी चालकको काम गर्नुहुन्थ्यो । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उहाँ बताउनुहुन्छ । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उहाँले बिस्तारै राम्रोसँग चलाउन थाल्नुभयो । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताउनुभयो ।

“मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु”, उहाँले भन्नुभयो । छेकीले गाडी चलाउँदा केही यात्रुहरूले सुरुमा विश्वास गर्दैनथे । उहाँले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरूले छेकीमाथि यति विश्वास गर्न थाले कि उहाँले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् ।

उहाँले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गर्नुभएको छ । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उहाँको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरू बताउँछन् ।

कक्षा १२ सम्म अध्ययन गर्नुभएकी उहाँले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उहाँले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देख्नुभएको छ । “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । रोजगारीको खोजीमा धेरै नेपाली महिला बिदेसिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिनुभएको छ छेकीले ।

जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले उहाँको गाडी रोज्ने गरेको बताउँछन् । “केही पुरुष चालकहरूले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ”, स्थानीय यात्रु दावा शेर्पाले भन्नुभयो, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई आमरण अनशनमा
२०८२ श्रावण १४, बुधबार