असार २४, २०८२ मंगलबार July 8, 2025

लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

विगतमा जस्तो नेपालमा अब कहिल्यै हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले लोकतान्त्रिक शासन प्रणालीमा अरूको अधिकार हनन हुने गरी कुनै पनि काम गर्न नदिने स्पष्ट पारे ।

नेपालको आफ्नै पहिचान भएकाले कुनै पनि देशको नक्कन गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, “नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ होइन, यहाँ त्यस्तो हुन सम्भव छैन ।”

लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध लड्नेहरूले लोकतन्त्रवादीहरूलाई तर्साउन सम्भव नभएको बताए। उनले भने, “हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ । लोकतन्त्रविरुद्ध लड्नेहरूले हामीलाई तर्साउन सम्भव छैन ।”

विगतमा जस्तो नेपालमा अब कहिल्यै हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, “हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरूलाई म राम्ररी सिक भन्न चाहन्छु, नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन ।”

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र र देश बनाउने अभियानमा आफू छ दशकदेखि लागिरहेको स्मरण गर्दै समाजको सुव्यवस्थाका लागि मानव जातिले राजनीति र राजनीतिक दल सृजना गरेकाले राजनीतिकप्रति घृणा फैलाउने प्रयास गर्न नहुने बताए।

“अहिलेको सरकारले कसैमाथि अन्याय र अत्याचार गर्दैन । आफ्नो हित र रक्षाका लागि केही गलत काम गर्दैन तर जनताको हित र रक्षाविरुद्ध कसैले काम गरेमा विधिको शासनबमोजिम शान्ति सुरक्षा र सम्मान कायम गर्छ,” प्रधानमन्त्री ओलीले थपे, “राज्यका निकायले कानुनको पालना गर्छन् । न्यायोचित कानुनलाई सबैले मान्नुपर्छ । कानुनको विवेकसम्मत कार्यान्वयन हुनुपर्छ । लोकतन्त्र सरकार र सबैको जीवन पद्धति हुनुपर्छ । हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौँ ।”

आफ्नो न्यायिक कमाइबाहेक अरु सम्पत्तिमा लोभ नगर्ने, अनैतिक काम नगर्ने, जानीजानी झुट नबोल्ने, अरूको अहित नगर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने संकल्प दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्र शिथिल भएका बेला अर्थतन्त्रलाई सुधार्दै गरिबीको दुष्चक्रबाट मुलुकलाई माथि उठाउन आफूहरू लागिरहेको स्पष्ट पारे ।

कार्यक्रममा प्रधानमन्त्री ओली, सभापति देउवा र बाल गुरु आदित्यनाथले थापाको पुस्तक लोकार्पण गर्नुभएको थियो । प्रधानमन्त्री ओली र सभापति देउवाले नेपालको शान्ति प्रक्रिया, राजनीतिक स्थिरता र विकासका लागि थापाले आफ्नो ज्यान जोखिममा राखेर पनि महत्त्वपूर्ण पहल गर्दै आएकामा प्रशंसा गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार