असार २२, २०८२ आइतबार July 6, 2025

बाबुरामजी अर्कै ठाउँमा पुगिसक्नुभयो, महिन्द्रजीसँग हाम्रो संवाद जारी छ : उपमहासचिव माओवादी केन्द्र, गिरिराजमणि पोखरेल (अन्तवार्ता)

केन्द्रीय समिति बैठकले सबै पक्षमा छलफल गरेर अन्योलतालाई चिर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

केन्द्रीय समिति बैठकको तयारी के–के छन् ?

पटक पटक पदाधिकारीको बैठक बसेका छौँ । बिचमा हामीले स्थायी समितिको बैठक सम्पन्न गर्‍यौँ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा १८ देखि २० गतेसम्म स्थायी समितिको तयारी बैठक राखेका छौँ । २१ गतेदेखि केन्द्रीय समिति बैठक सुरु हुन्छ । वैचारिक, राजनीतिक, साङ्गठनिक दृष्टिकोणले स्पष्ट दिशा दिनेगरी छलफल गरिराखेका छौँ ।

महत्वपूर्ण चरणमा केन्द्रीय समिति बैठक बस्न लागेको छ । यस बैठकलाई सबैले चासोसाथ हेरका छन् । वामपन्थी शक्तिबिच एकता तथा समायोजनको मोडिलिटी यही बैठकले बनाउँछ ?

पहिलो कुरा बदलिएको विश्व राजनीति, क्षेत्रीय अवस्था, नेपालको अहिले समकालीन राजनीतिलाई ध्यान दिएर यो बैठक हाम्रो लागि महत्त्वपूर्ण हुनेछ । यस बैठकले आगामी कार्यनीति, रणनीति कसरी जोड्ने जस्ता विषयमा गम्भीर बहस गर्नेछ । साङ्गठनिक तयारी पनि छन् । साथै वामपन्थीहरूको एकता र सहकार्यको विषय पनि अर्को महत्त्वपूर्ण विषय हो । रणनीतिक ढङ्गले वामपन्थीबिच कसरी जाने ? कार्यनीति ढङ्गले कसरी जाने ? मोर्चागत ढङ्गले कसरी जाने विषय विशेष अर्थका छन् । मूलतः वामपन्थीहरूबिच एकताको पक्षमा छौँ । नेतृत्वको कोणबाट नेकपा एमाले सम्बन्धित एक पक्षीय नेताहरूले वाम एकतालाई ठिक ढङ्गले नलिएको भएपनि ठुलो पङ्क्ति वामपन्थीबिच एकता र सहकार्यको पक्षमा छन् । नेता कार्यकर्ताको धेरै ठुलो पङ्क्ति छ । भावना पनि त्यही हो । छरिएर रहेका संसदमा भएका वा नभएका वामपन्थीबिचमा पनि एउटा सार्थक खालको संवादको आवश्यकता छ । यी सबै पक्षलाई ध्यान दिएर केन्द्रीय समिति बैठकले नीतिगत र कार्यक्रमिक ढङ्गले निर्णय गर्नेछ ।

विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेसपाले माओवादीसँग एकता गर्ने निर्णय गरेको झण्डै १० महिना भइसकेको छ । तर अध्यक्ष प्रचण्डले एकताका लागि कुनै चासो नदेखाएको आरोप छ नि ?

पहिलो कुरा विप्लवजीको असन्तुष्टिबारे मैले पनि सञ्चार माध्यमबाट थाहा पाएको हुँ । बैठक नबसेसम्म यसबारेमा मैले अहिले केही बोल्न मिल्दैन । दोस्रो कुरा अहिले सबै वामपन्थी दलहरू सहकार्यको पक्षमा हुनुहुन्छ । हाम्रो पार्टी एउटा एउटा समूहभन्दा पनि अलि बृहत् खालको वामपन्थी एकतालाई समेत ध्यान दिएर मोर्चा बनाएको छ । त्यो मोर्चालाई पनि सुदृढ गरेर जान खोज्दा ढिलाइ भएको हो । यसबारे नेकपा र एकीकृत समाजवादीको पनि केही निर्णय सुन्नमा आएको छ । पार्टीको बैठक बसेर नै यसबारे हामीले आधिकारिक ढङ्गले अन्तिम निर्णय गर्छौँ ।

अहिलेसम्म ढिलाइ हुनुको कारण वैचारिक, राजनीतिक हो कि पदीय व्यवस्थापन नमिल्दा हो ?

पहिलो हाम्रो छलफल कार्यदिशामा हुनुपर्‍यो । वैचारिक, राजनीतिक साङ्गठनिक यी तीन वटै विषय समेटिएको कार्यदिशामा पहिला एकरूपता हुनुपर्‍यो । एमालेसँग मिलेर हामीले नेकपा बनायौँ । वैचारिक लाइनमा हाम्रो एकरूप बुझाई नभइसकेपछि हामी जे जे भोग्यौँ, त्यसले कम्युनिस्ट आन्दोलनलाई जुन क्षति भयो, ती सबैले देखेको कुरा छ । कतिपय कार्यनीतिक सवालमा मतभेद भएर पार्टी फुट्ने गरेका छन् । वैचारिक साथसाथै अहिलेको तात्कालिक कुरा समाजवादका आधार तयार गर्ने कुरा हो । यसको आधार तयार गर्दा सरकार, सदन र सडक तीन वटै मोर्चाबाट गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । प्रचण्डको नेतृत्वको बेलामा सरकारले सकारात्मक काम पनि गर्‍यो । भर्खर सम्पन्न भएको स्थानीय तह उपचुनावले पनि एउटा सन्देश प्राप्त गरेको छ ।

दोस्रो विषयवस्तु हामी कार्यक्रमिक ढङ्गले कसरी अगाडि बढ्छौं ? वैचारिक कुरामा एकरूपता भएमा त्यो मोटो विषय बन्छ । सूक्ष्म बुझाई कार्यक्रममा हुन्छ । त्यसैले समाजवादलाई केन्द्रमा राखेर कार्यक्रमिक ढङ्गले हामी कसरी जान सक्छौँ भन्ने कुरा महत्त्वपूर्ण भयो ।

तेस्रो कुरा साङ्गठनिक ढङ्गले क्याडरबेस(कार्यकर्ता)मा आधारित पार्टी बनाएका हौँ । तर पछिल्लो बेलामा शान्तिपूर्ण ढङ्गले चुनावमा भाग लिएर समाजवादमा जान सकिन्छ भन्ने हो । र, संविधानसभा हुँदै चुनावमा पनि भाग लिँदै अगाडि बढेको स्थिति छ । जनतामा आधारित पार्टी बनाउने निर्णय गरिसकेका छौँ । पछिल्लो विधान सम्मेलनसम्म आइपुग्दाको निचोड त्यही हो । त्यसैले यी कुराको संश्लेषित कुरा के हुन्छ भन्ने कुरा एकरूपता कायम गर्नुपर्छ । हामीले परामर्श बैठक सकेर केन्द्रीय समिति बैठकसम्म जाँदाखेरी यसलाई अझै व्यवस्थित गर्छौँ । अझै कतिपय विषय विशेष महाधिवेशनसम्म जानुपर्ने हुन सक्छ । तत्कालिक राजनीतिक घटनाक्रममा हाम्रो समान धारणा बनाउनु पर्ने विषय आफ्ना ठाउँमा छँदैछ ।

मंसिर २८ गते बसेको स्थायी समिति बैठकले एकता÷समायोजनसम्बन्धी मापदण्ड बनाउनु भएको छ । त्यसले झन् साङ्गठनिक अराजकता आउने खतरा हुँदैन ?

पहिलो कुरा एकता/समायोजनसम्बन्धी निर्णय पद नभएको कुरा प्रस्ट पार्न चाहन्छु । तहगत ढङ्गले जिम्मेवारीमा भएका समस्यालाई सकारात्मक ढङ्गले सम्बोधन गर्नुपर्छ भनेको हो । यसलाई सम्बोधन गर्न वामपन्थी पृष्ठभूमिबाट आएका लागि पुरानो इतिहासलाई मान्यता दिने यसअघि नै निर्णय गरेर अभ्यास भइसकेका विषय हुन् । गैरवामपन्थीबाट आएकाका लागि जस्ताको तस्तै लागु हुँदैन । वामपन्थी पार्टीभित्रबाट आएकाका लागि पद होइन तहगत ढङ्गले एकता गर्ने भनिएको हो । तहगत ढङ्गले एकता गर्दा त्यहाँ पार्टी एकता संयोजन समिति हुन्छ । वार्ता टोली हुन्छ । समस्यालाई समाधान गर्ने संयन्त्र हुन्छ । त्यसले टुङ्ग्याउँछ । पछिल्लो निर्णयको स्पिरिड त्यो हो ।

यसअघि तपाईँहरूले जुन जुन समूहसँग एकता तत्कालै हुन्छ भन्नुभएको थियो ढिलाइ हुनुको खास कारण के हो ?

हामीले एकता गर्न नचाहेको होइन । त्यो अत्यन्तै आवश्यक कुरा हो । सबैसँग गृहकार्य गरेर एकता गर्न खोज्दा ढिलाइ भएको हो । अरू दैनिक घटनाक्रम, आन्तरिक व्यस्तताका कारणले कहिलेकाहिँ त्यस्तो विषय ओझेलमा परेका पनि हुन सक्छ । एकतासम्बन्धी सहमतिबाट हामी पछि हटेका छैनौँ । सहमति भत्किएको अर्थमा यसलाई बुझ्नु हुँदैन । केन्द्रीय समिति बैठकले सबै पक्षमा छलफल गरेर अन्योलतालाई चिर्छ ।

२०७९ को निर्वाचनअघि नेसपासँग पार्टी एकता गर्ने सहमति हुँदा पार्टीको नाम परिवर्तन गरी नेकपा समाजवादी राख्ने सहमति भएको थियो । यस बैठकले पार्टी नाम, झन्डा, चुनाव चिन्ह हटाउने गरी निर्णय गर्छ ?

पहिलो कुरा पार्टीको नाम हटाउने खालको बुझाई छैन । त्यतिबेला  बाबुरामजीले कम्युनिस्ट पार्टी नमान्ने कुरा थियो । तर कम्युनिस्ट आन्दोलनलाई मान्ने, एकतालाई मान्य भइसकेपछि नाममा लचक हुन सक्छौँ । टुंगिसकेको विषय होइन । अब बाबुरामजी अर्कै ठाउँमा पुगिसक्नुभएको छ । महिन्द्रजीसँग हाम्रो संवाद जारी छ ।

महिन्द्र यादवले त माओवादी फुर्को नहटाएसम्म एकता सम्भव छैन भनिरहनुभएको छ नि ?

त्यसमा दुई पक्ष बसेर छलफल र वार्ता गरेर टुङ्ग्याउन सक्छौँ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार