काठमाडौंः सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको प्रतिरक्षा गर्ने भएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी एवं सरकारमा पार्टीका तर्फबाट सामेल मन्त्रीहरूको बैठकले सदनमा एकढिक्का भएर अध्यादेशको प्रतिरक्षा गर्ने निर्णय गरेको हो।
सांसदहरूसँग सघनरूपमा छलफल गरेर सदनमा एकढिक्काका साथ अध्यादेशको प्रतिरक्षा गर्ने निर्णय भएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
उनले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले मुलुकलाई सुशासन तथा आर्थिक गतविधिलाई चलायमान बनाउन सरकारले अयध्यादेश ल्याएको जानकारी गराएको बताए।
बैठकमा सहभागी मन्त्रीहरूले सरकारको कामबारे जानकारी गराएका थिए। बैठकमा सरकार गठनका बेला कांग्रेस र एमालेबीच भएको संविधान संशोधनका विषयमा समेत चर्चा भएको छ। दुवै दलबीच भएको सातबुँदे समझदारीमध्ये संविधान संशोधनलाई महत्वपूर्ण ठानिएको छ।
प्रवक्ता महतले संविधान संशोधनको विषयलाई छिटो अगाडि बढाउन सरकारी तहमै संयन्त्र गठन गरेर अघि बढ्ने जानकारी आएको बताए।
सभापति शेरबहादुर देउवाले कामकारबाहीमा केही समस्या भए जानकारी गराउन सरकारमा गएका मन्त्रीहरूलाई निर्देशन दिए। अध्यादेशलगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया