काठमाडौंः नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार अप्राकृतिक रहेको भनि भ्रम फिँजाउने काम भइरहेको बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नु पर्ने र ती दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रष्ट पारे।
जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक भएको उनले बताए।
देश बनाउनको लागि धेरै राजनीतिक दल होइन ठूला र बलिया राजनीतिक दल आवश्यक रहेको उनको भनाइ थियो। ठूला र बलिया दलले मात्र मुलुकमा विकास र समृद्धिको काम गर्न सक्ने पोखरेलले बताए।
एमाले पार्टीको नीति एमालेको मात्र नीति बनेर देश अघि नबढ्ने उनले उल्लेख गरे। एमालेको नीति मुलुकको नीति बन्नु पर्ने पोखरेलको भनाइ थियो। त्यसका लागि एमालेको नीति मिसन २०८४ र एमालेको एकल बहुमतको सरकार भएको पोखरेलले बताए।
नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशका लागि काम गर्न नसक्ने उनले बताए। नेकपा एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको बताउँदै उनले अबको युग युवाको युग रहेको र युवाका साथमा नेकपा एमाले सधैँ रहने उल्लेख गरे।
देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको पोखरेलले बताए। त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको उनेले स्पष्ट पारे।
‘हामी केपी ओलीको नेतृत्वमा नेपाललाई समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने अभियान चलाउन चाहन्छौँ’, उनले भने।
राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओलीमाथि चौतर्फी हमला भइरहेको बताउँदै उनले त्यो सङ्कट समाधानका लागि राष्ट्रिय युवा संघ नेपाललाई अग्र मोर्चामा उभिन आग्रह गरे।
नेपाललाई असफल गराउन चाहनेहरूले एमाले र केपी ओली माथि हमला गरिरहेको पोखरेलको भनाइ थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया