असार २८, २०८२ शनिबार July 12, 2025

भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक पारित हुने महासचिव पोखरेलको दाबी

भूमिसम्बन्धी विधेयक संसदबाट पास गरेर सुकुम्बासी, भूमहिन तथा दलितको समस्या समाधान गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक संसद् बैठकबाट पारित हुने बताउनुभएको छ । एमाले दाङले दाङको घोराहीमा आयोजना गरेको जनसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

भूमिसम्बन्धी विधेयक संसदबाट पास गरेर सुकुम्बासी, भूमहिन तथा दलितको समस्या समाधान गर्ने उहाँले प्रष्ट पार्नुभयो । सबै दलले सुकुम्बासी, भूमहिन तथा दलितलाई भूमि उपलब्ध गराउने प्रतिबद्धता गरेकाले कुनै पनि हालतमा भूमिसम्वन्धि विधेयक पास गर्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ । त्यसैगरी महासचिव पोखरेलले मुक्त कमैया, कमलरीको समस्या सम्बोधन गरेर उचित न्याय गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

यसैगरी अहिलेको सरकारले दाङको समग्र विकासलाई अगाडि बढाउने महासचिव पोख्रेलले बताउनुभयो । उहाँले दाङको समग्र विकास र समृद्धिका लागि गुरु योजना बनाएर अगाडि बढिरहेको जोड दिनुभयो ।

दाङको घोराही तुलसीपुरको फोर लेनको सडक निर्माणको काम पनि अघि बढिसकेकाले अबको केही वर्षमा दाङले विकासको मुहार फेरेको देख्ने विश्वास दिलाउनुभयो । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरमा सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले दाङले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया