असार २८, २०८२ शनिबार July 12, 2025

राजतन्त्र फर्कने कुरा बेकारको बहस : कांग्रेस नेता सिटौला

पार्टीको १५ औँ महाअधिवेशन ८२ सालमा नहुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा राजतन्त्र फर्कने कुरालाई बेकारको बहस भन्नुभएको छ । “गणतन्त्र मासेर राजतन्त्र ल्याउने कुरा असम्भव छ ” झापाको दुधेमा बिहीबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले भन्नुभयो,” असम्भव र बेकारको बहसमा समय नखर्चनुस् ।”

राजा फर्कने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य राजावादी शक्ति उत्साही भएको बेला नेता सिटौलाले यस्तो टिप्पणी गर्नु भएको हो । सिटौला तत्कालीन समयमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीबाट नागार्जुन पठाउन मुख्यभूमिका निर्वाह गर्ने मध्येका एक नेता हुनुहुन्छ । नेता सिटौलाले नै पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुन पुर्‍याउनु भएको थियो ।

प्रजातन्त्र दिवस ( फागुन ७ ) मा शुभकामना सन्देश मार्फत समय आएको र सहयोग गर्न भनेपछि अहिले यो विषयले नेपाली राजनीति गर्माएको छ । राप्रपाले चरणबद्ध आन्दोलन गरिरहेको र सो विषयले राजनीति गर्माएको बेला सिटौलाको यस्तो भनाइ सार्वजनिक भएको हो ।

“राजाको शासनकालमा जनताले दुःख मात्रै पाए, यस्तो व्यवस्था कहिल्यै पनि स्वीकार्न सकिन्न ” सिटौलाले भन्नुभयो,” सबैको हित हुने व्यवस्था भनेकै लोकतान्त्रिक व्यवस्था हो, लोकतन्त्र देश र जनताको समृद्धिका लागि ल्याइएको हो, जनताले यही सोचेर संघर्षमा साथ दिएका हुन् ।”

उहाँले कांग्रेसले त्यसबेला प्रतिकुलतालाई स्वीकार गरेर अघि बढेकैले अहिले कांग्रेस जनताको संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्था जोगाउन र देशको हित गर्न सक्षम भएको दाबीसमेत गर्नुभयो। उहाँले आवश्यकताको आधारमा संविधान संसोधन हुने स्पष्ट पार्नुभयो। ” कांग्रेस आफ्ना लागि नभई देश र जनताको भलाईका लागि हो” उहाँले भन्नुभयो,” देश लोकतान्त्रिक व्यवस्थाबाटै अघि बढ्छ, न्यायपूर्ण व्यवस्था भएकैले लोकतन्त्र ल्याइएको हो ।”

आपसी मेलमिलाप र सहकार्यका साथ अघि बढ्न निर्देश गर्नु भएको सिटौलाले एकतामा मात्रै बल हुने र शक्तिशाली बन्न सकिने बताउनुभयो । उहाँके नेताकार्यकर्तालाई शहीदलाई सम्झेर दुःखी, गरिबको जीवनस्तर परिवर्तन हुने गरी कार्य गर्न आग्रह गर्नुभयो ।

उहाँले पार्टीको १५ औँ महाअधिवेशन ८२ सालमा नहुने बताउनुभयो । पार्टी महाधिवेशन समयमा नै हुने वा नहुने बहस चलिरहेको बेला नेता सिटौलाले त्यस्तो बताउनु भएको हो । महाधिवेशनलाई लिएर कांग्रेसमा दुई धार निर्माण भएको छ । एक पक्षका नेताले ८२ सालमा नै महाधिवेशन गर्नु पर्ने र हुने बताइरहेका छन् । अर्काे पक्षका नेता ०८४ को चुनाव पछि मात्रै महाधिवेशन गर्नु पर्ने मत राखिरहेका छन् ।

नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले आयोजना गरेको सो कार्यक्रममा पार्टीका कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो, झापा सभापति देउकुमार थेवे, महासमिति सदस्यद्वय भक्तिप्रसाद सिटौला र मचिन्द्रकुमार शेर्मा, महाधिवेशन प्रतिनिधि सन्तोषकुमार मेन्याङ्बो,नगर सभापति अशोक बस्नेत लगायतले बोल्नु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया